Logo

चिनियाँ व्यापारीको दबाबमा नेपाली घरधनी, घरभाडा माग्दा ज्यान मार्ने धम्की

चिनियाँ व्यापारीको दबाबमा नेपाली घरधनी, घरभाडा माग्दा ज्यान मार्ने धम्की



काठमाडौं । नेपालमा चिनियाँ व्यवसायीहरुको आगमनसँगै उच्च भाडा लिन थालेका घरबेटीहरु यतिबेला तनाबमा छन् । चिनियाँ व्यापारीले नेपालमा भाषा सिकाई, कार्गो व्यवसाय, साना तथा मझौला खालका होटल रेष्टुराँलगायतका व्यवसाय संचालनका लागि नेपाली व्यवसायीको तुलनामा दोब्बर भाडा दिँदै घर भाडामा लिएका छन् ।

बढी भाडा पाएको भन्दै घरधनीहरुले नेपाली व्यवसायीलाई निकाल्दै चिनियाँ व्यवसायीहरुलाई घर भाडामा दिन थाले । नेपालीहरुले प्रतिमहिना १ लाख रुपैयाँ भाडा तिर्दै आएको स्थानमा चिनियाँ लगानीकर्ताले ३ लाख रुपैयाँसम्म भाडा तिर्न थालेपछि घरधनीले नेपालीलाई जवर्जस्ती निकालेर चिनियाँलाई भाडामा लगाएका थिए ।

विशेषगरी ठमेल, ज्याठा, सुन्धारा, लाजिम्पाटलगायतका स्थानमा चिनियाँ व्यापारीहरुले बढी भाडा दिँदै नेपाली व्यवसायीलाई प्रतिस्थापन गरी आफुहरुले कब्जा जमाएका थिए भने सोही अनुरुप घरधनीहरुले पनि नेपाली व्यवसायीहरुलाई निकालेका थिए । अहिले ठमेल, ज्याठा, सुन्धरालगायतका स्थानमा चिनियाँ व्यवसायीले बढी भाडा तिरेका कारण नेपाली व्यवसायीहरु विस्थापित नै भएका छन् भने जताजतै चिनियाँ होडिङ बोर्डमा मात्रै भेटिन्छन् ।

तर, पछिल्लो समय चिनियाँ लगानीकर्ताहरुले एक पटक घर भाडामा लिएपछि नछाड्ने तथा भाडा नै नदिने गरेको सम्बद्ध घरधनीहरु बताउँछन् । ‘कतिपय चिनियाँ लगानीकर्ताहरुले गैर कानूनी रुपमा व्यवसाय चलाएर बसेका रैछन्,’ एक घरधनीले बिजखबरसँग भने, ‘उनीहरुले एक पटक घर भाडामा लिएपछि सम्पर्कमा आउँदैनन, भाडा मागेमा वा घर खाली गर्न आग्रह गरेमा धम्की दिन्छन् ।’

नेपालमा चिनियाँ नागरिकहरुले बैंक ह्याकदेखि गैर कानूनी क्रियाकलाप गर्दै आएको भन्दै प्रहरीले उनीहरुमाथी निगरानी समेत बढाएको छ । केही समय अघि नेपालमा व्यवसाय गर्दै आएको चिनियाँ नागरिकहरु वीच्याटलगायतका हुण्डी व्यवसायमा संलग्न भएको भन्दै राष्ट्र बैंकले अनुसन्धान गरी वीच्याट कारोबारमै प्रतिबन्ध लगाएको थियो भने पछिल्लो समय उनीहरु बैंकिङ फ्रडजस्ता घटनामा पक्राउ पर्न थालेका छन् । बैंकिङ सिस्टमदेखि एटीएमट ह्याक गरेर पैसा निकाल्नेमा पनि चिनियाँ नागरिकहरु अग्रपंक्तिमा रहेका छन् ।

यसैगरी चिनियाँ नागरिकहरुले दर्ता नै नभएको कम्पनी वा फर्मको नाममा समेत घरभाडामा लिएर व्यवसाय गर्दै आएका सम्बद्ध स्रोतले जानकारी दिएको छ । ‘उनीहरुले चिनियाँ भाषामा लेखेको कम्पनी तथा फर्म देखाएर भाडा लिनका लागि आउँछन्,’ उक्त स्रोतले भन्यो, ‘धेरैजसो घरधनीलाई चिनियाँ भाषा थाहा नहुने भएकाले सोही आधारमा भाडा लगाउँछन् ।’ तर, घरभाडा लिँदा पेश गरिएका धेरैजसो कागजात नै नक्कली भएको भेटिएको छ ।

सुरुमा आफुलाई सहज हुनेगरी घर भाडामा लिन धरधनीलाई जतिपनि पैसा तिर्ने र गलत क्रियाकलाप गर्दै पछि उल्टै घरधनीलाई नै मार्नेसम्मका धम्की चिनियाँ व्यापारीहरुले दिन थालेका छन् । लामो समयसम्म घर भाडा नतिरेपछि घर खाली गरिदिन आग्रह गर्दा आफुलाई मारेर चीन फर्कने धम्की दिएको लाजिम्पाटका एक घरधनीले बताए । ‘लामो समयसम्म भाडा नतिर्ने तथा सम्पर्कमा नआउने गरेपछि म्यासेजमार्फत घर भाडा तिरेर घर खाली गरिदिन आग्रह गरेको थिए,’ ती घरवेटीले भने, ‘तर चिनियाँ नागरिकहरुले म्यासेजमार्फत आफुलाई मारेर चीन फर्कनेभन्दै सचेत रहन धम्की दिए ।’

नेपालमा लगानी गर्न तथा भिजिट भिसामा आएका चिनियाँ नागरिहरुले शंकास्पद गतिविधि गरेको जानकारीमा आएपछि नेपाल प्रहरीले सर्च अप्रेशन समेत सुरु गरेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले शंकास्पद गतिविधी गरेको आरोपमा सोमबारमात्रै १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरी अनुसन्धान थालेको छ । प्रक्राउ परेकामध्ये कतिपय भिसा नै नभई गैरकानूनी रुपमा बसोबास गर्दै आएका तथा कतिपय गैरकानूनी क्रियाकलापमा संलग्न भएको हुन सक्ने ब्यूरोका प्रवक्ता बेलबहादूर पाण्डेले जानकारी दिए । ‘पक्राउ परेका चिनियाँ नागरिकमाथी थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘अनुसन्धान पश्चात उनीहरुमाथी सार्वजनिक मुद्दा चलाईनेछ ।’ प्रहरीले मनमैजु, बाँसबारी, बुढानिलकण्ठलगायतका स्थानमा सर्च अप्रेशनगरी गैरकाननूनी रुपमा बसोबास गर्दै आएका चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL