काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय स्तरको व्यावसायिक प्रवद्र्धनका लागि देशका विभिन्न क्षेत्र र जिल्लामा आयोजना हुने मेला महोत्सवको आयोजनाको काम नेपाल उद्योग वाणिज्य महासंघ र यस मातहतका संघसंस्थाहरुले मात्र गर्न पाउनुपर्ने बताएका छन् ।
स्याङ्जामा शुक्रबार आयोजित ‘गण्डकी प्रदेशस्तरीय स्याङ्जा महोत्सव’ को प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दैै भने– स्थानीय उत्पादन, सीप र कलालाई प्रवद्र्धन गरी बजारसम्म पु¥याउने यो काम नेपाल उद्योग वाणिज्य महासंघ र यस मातहतका संघ संस्थाहरुले नै गर्ने हो अरुले होइन । उनले अबदेखि यस्ता मेला महोत्सवहरुको आयोजना गर्ने काम नेपाल उद्योग वाणिज्य महासंघ र यस मातहतका संघसंस्थाहरुलाई मात्र दिनुपर्ने प्रावधानका लागि सम्बन्धित सबै प्रदेश सरकारहरु र संघीय सरकारसमक्ष नेपाल उद्योग वाणिज्य महासंघ र आफ्नो व्यक्तिगत तर्फबाट पहल गर्ने बताए ।
उपाध्यक्ष ढकालले भने– यस प्रयोजनका लागि म नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वको हैसियतले संघीय सरकारसँग कुरा गर्नुपर्ने लगायतका आवश्यक सबै पहल गर्नेछु । सो कार्यक्रममा उनले यस्ता स्थानीय स्तरका मेला महोत्सवहरुका आयोजकहरुलाई स्थानीय उत्पादन, सीप, कलाको प्रदर्शन गरी उनीहरुलाई नै उत्प्रेरित गर्ने र आगामी दिनमा यही क्षेत्रमा उद्यमशिलताका ढोकाहरु खोलिदिने अवसरका रुपमा विकास गर्न पनि आग्रह गरे ।
उनले नेपाल उद्योग वाणिज्य महासंघ कमजोर नभएको स्पष्ट पनि गरे । सम्मेलनका क्रममा बोल्ने स्थानीय व्यवसायीहरुले महासंघ कमजोर भएको र स्थानीय स्तरका साना व्यवसायीहरुको हकहितका कुरालाई केन्द्र सरकारसमक्ष ‘लबिङ’ गर्न नसकेको भनी गरेको गुनासोको सम्बोधन गर्दै महासंघ कमजोर नभएको र सबै व्यवसायीहरुको हक हितका पक्षमा काम गरिरहेको बताए । महासंघले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुलाई आवश्यक र सक्दो सहयोग र समन्वय गरी आएको बताउँदै आगामी दिनमा उनीहरुको व्यावसायिक हक हितका लागि अझ बलियो भएर काम गर्ने बताए ।
उनले गण्डकी प्रदेशस्तरका समग्र व्यवसायीलाई सम्बोधन गर्दै भने– म नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व तहमा बसेको र आफै पनि एकजना उद्यमी तथा बैंकरका हैसियतले यहाँहरुलाई यो आस्वस्त पार्न चाहन्छु कि महासंघले तपाईँहरुका समस्याको समाधान गर्न र व्यावसायिक हक हितको संरक्षण गर्न कुनै कसर बाँकी राख्ने छैन । मुलुकको आर्थिक क्रियाकलापलाई गति दिन, रोजगारीको सिर्जना गर्न तथा देशमा उद्यमशिलताको वातावरण बनाउन पनि स्थानीय स्तरदेखि प्रदेश हुदै केन्द्रसम्म व्यवसायिक प्रवद्र्धन गर्नु जरुरी छ र यो कार्य उद्योगी, व्यवसायीको हकहितको संरक्षण र सम्बद्र्धनबाट मात्र सम्भव छ ।
नेपालको आर्थिक विकास तथा समृद्धिको यात्रामा निजी क्षेत्रको ठूलो योगदान रहेको भन्दै उनले देश विकासको तीन खम्बे अर्थनीतिमा निजी क्षेत्र एक दरिलो खम्बा भएकोले यससँगको सहकार्य र साझेदारीबाट मात्र देशमा समृद्धि आउने बताए । उनले नेपाल नयाँ राजनीतिक संरचनामा प्रवेश गरेसँगै संघीय, प्रदेश र स्थानीय सरकारहरुमा आ–आफ्ना क्षेत्रमा लगानी भित्र्याउन प्रतिश्पर्धा देखिनु सकारात्मक भए पनि सरकारी संयन्त्रको पुरानै मानसिकताका कारण व्यावसायीलाई सोचेजस्तो सहज वातावरण भने नरहेको गुनासो गरे ।