Logo

सुनचाँदीमा राजस्व छली गरेको आरोपमा २ जना विरुद्ध मुद्दा दायर, १ करोड ५३ लाख बिगो दाबी

सुनचाँदीमा राजस्व छली गरेको आरोपमा २ जना विरुद्ध मुद्दा दायर, १ करोड ५३ लाख बिगो दाबी



काठमाडौं । राजस्व अनुसन्धान विभागले सुन र चाँदीमा राजस्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेकोे छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–१ का रमेशकुमार सैजु र सीताकुमारी चौधरीले राजस्व चुहावट गरेको पाइएकाले १ करोड ५३ लाख १५ हजार रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजायको माग दाबीसहित मुद्दा चलाइएको राजस्व अनुसन्धान विभाग ललितपुरले जानकारी दिएको छ ।

उनीहरुले १ करोड २३ लाख रुपैयाँ मूल्य बराबरको सुन र झण्डै ४ लाख रुपैयाँ बराबरको चाँदीमा राजस्व छली गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिएका छन । उनीहरु विरुद्ध बुधबार मुद्दा दायर गरिएको विभागले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बा १९ च ७४१३ नम्बरको गाडी जाँच गर्दा बिना बिलविजक उक्त मूल्यको सुन र चाँदी फेला पारी राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको थियो ।

अनुसन्धानमा कुनै वैधानिक प्रमाण फेला नपरेकाले सैजु र चौधरीले बिना इजाजत अन्य मुलुकबाट भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरी ल्याएको देखिएको विभागले जानकारी दिएको हो/रासस

प्रतिक्रिया दिनुहोस्
MBL