Logo

नक्कली कागजात बनाउने गिरोह पक्राउ, सवारीको लाइसेन्सका लागि बनाउँथे नक्कली कागजात

नक्कली कागजात बनाउने गिरोह पक्राउ, सवारीको लाइसेन्सका लागि बनाउँथे नक्कली कागजात



काठमाडौं। प्रहरीले नक्कली कागजात बनाउने गिरोह पक्राउ गरेको छ । ट्राफिक प्रहरी महाशाखाको टोलीले यस्तो कार्यमा संलग्न २ जनालाई नियन्त्रणमा लिएको छ ।
यससँगै नक्कली कागजात बनाएर फरक व्यक्तिहरुले सवारी चालक अनुमतिपत्रको ट्रायल दिने गरेको खुलासा भएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका गुर्जुधारामा रहेको भेइकल एकेडेमी एण्ड रिसर्च सेण्टरबाट कालिकोटको खाडाचक्र घर भइ अहिले चावहिल बस्ने वीरेन्द्र मल्ल र कालिकोटकै महावै घर भई हाल सुकेधारा बस्ने दिपक शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट दुई थान ल्यापटप, एक थान प्रिन्टर र जिल्ला प्रशासन कार्यालय लेखिएको नेपाली नागरिकताको नक्कली कार्ड ११ थान बरामद गरिएको छ ।

त्यसैगरि नक्कली नागरिकता बनाउन प्रयोग गरिने क्रिम पेपर ६ थान, विभिन्न व्यक्तिहरुको नागरिकता प्रमाणपत्र नम्बर र नाम प्रयोग गरी बनाइएका नक्कली नागरिकता ७ थान र जिल्ला प्रशासन कार्यालय बाँके उल्लेख भएको छाप एक थान पनि बरामद गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

त्यसैगरी यातायात व्यवस्था कार्यालयबाट ट्रायल परीक्षाको लागि जारी गरिने विभिन्न नाम, थर र ठेगाना भएका व्यक्तिहरको एप्लीकेन्ट आइडीको फोटोकपी ३० थान, शाखा अधिकृत भएको छाप १ थान, क्याम्लिन लेखिएको स्टाम्प प्याड २ थान, रातो लेख्ने कलम १, फोटो टाँस्न प्रयोग हुने गम २ थान र कैची १ थान समेत बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL