Logo

नेस्ले इन्डियाद्वारा नेपालमा सर्भ सेफ फुड प्रोजेक्ट सुरु, ५ सय जनालाई तालिम दिईने

नेस्ले इन्डियाद्वारा नेपालमा सर्भ सेफ फुड प्रोजेक्ट सुरु, ५ सय जनालाई तालिम दिईने



काठमाडौं । नेस्ले इन्डियाले सर्भ सेफ फूड प्रोजेक्ट शुरु गरेको छ । नेश्लेले नेपाल खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग, नेपाल पर्यटन बोर्ड र नेशनल एसोसिएसन अफ स्ट्रीट भेन्डर अफ इन्डियाको सहकार्यमा सर्भ सेफ फुड प्रोजेक्ट सुरु गरेको हो ।

नेपालमा उक्त प्रोजेक्ट अन्तरगत खाद्य सुरक्षा र स्वच्छता सम्बन्धी करिब ५ सय स्ट्रीट फूड विक्रेताहरुलाई तालिम दिने भएको छ । परियोजनाले भारतका बिभिन्न १७ स्थानहरुमा २० हजार स्ट्रीट फूड विक्रेताहरुलाई तालिम दिइसकेको छ । प्रोजेक्ट सर्भ सेफ फूड स्ट्रीट फूड विक्रेताहरुलाई स्वस्थ, स्वच्छ, सुरक्षित खाना ह्यान्डलिंग, फोहोर व्यवस्थापन र उद्यमशीलता शिक्षा र प्रशिक्षणमा केन्द्रित रहने छ ।

नेपाल खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभागकी महानिर्देशक डा. माटीना जोशीले भने, ‘सफा, सुरक्षित र स्वच्छ खाना मानिसहरुका लागि निकै महत्वपूर्ण छ, हाम्रा स्ट्रीट फूड विक्रेताहरुले उपभोक्ताहरुलाई सुरक्षित खाना वितरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । त्यसकारण ज्ञान र सीपका साथ स्ट्रीट फूड विक्रेताहरुलाई सशक्तिकरण गरे खाद्य सुरक्षाको प्रतिबद्धतामा लामो यात्रा तय गर्नेछौं ।’

सोही अवसरमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले भने नेपाल एक लोकप्रिय पर्यटन गन्तव्य भएको र स्ट्रीट फूड वितरण स्थानीयहरुका लागि रोजगारीको एक महत्वपूर्ण श्रोत भएको बताए । यस क्षेत्रमा पर्यटक प्रबद्र्धनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेस्ले इन्डियाले स्ट्रीट फूड विक्रेताको क्षमता वृद्धिका लागि गरेको पहल महत्वपूर्ण हुने बताए ।

नेस्ले इन्डियाका कर्पोरेट अफेयर्सका निर्देशक सञ्जय खजुरियाले भने नेस्लेको गुणस्तर जीवनको वृद्धि र स्वस्थ भविष्यका लागि योगदान पुर्याउने उद्देश्यले नेपालमा गर्न लागेको बताए । हाम्रा प्रशिक्षण कार्यक्रमहरुले सकारात्मक व्यवहार परिवर्तन ल्याउनुका साथै स्ट्रीट फूड विक्रेताहरुलाई खाद्य सुरक्षा र खाद्य स्वच्छतालाई गम्भीर रुपमा लिन प्रत्सोहान गर्ने छौं ।

प्रतिक्रिया दिनुहोस्