Logo

महानगरले १० महिनामा ७५ सय टन धुलो उठायो, माटो खसाउँदै हिँडने गाडीलाई ५ सय देखि १ लाखसम्म जरिवाना

महानगरले १० महिनामा ७५ सय टन धुलो उठायो, माटो खसाउँदै हिँडने गाडीलाई ५ सय देखि १ लाखसम्म जरिवाना



काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरपालिका धूलोरहित काठमाडौं बनाउन सक्रिय भएर लागेको छ । यसैका लागि भनेर महानरपालिकाले अहिले ५ ओटा ब्रुमरले सडक सफाई तथा धूलो संकलनको कामलाई तीव्रता दिएको छ ।

यसक्रममा महानगरको ५ ओटा ब्रुमरले १० महिनाको अवधिमा ब्रुमरले हालसम्म ७ हजार ५ सय टन धुलो संकलन गरेका छन् । महानगर अन्तरगतको वातावरण व्यवस्थापन विभागका अनुसार सोभन्दा अगाडिको तथ्याङ्क भने विभागसँग रहेको छैन । १० महिना अगाडिसम्म बेल्चाले ठेलामा जम्मा गर्दै धुलो संकलन गर्ने भएकाले विभागसँग एकिन तथ्याङ्क नभएको हो । विगतमा फोहोरसँगै धुलो पनि संकलन हुने भएकाले तथ्याङ्क नराखेको बिभागको भनाई रहेको छ ।

तर, अहिले भने फोहोर र धुलो छुट्टा छुट्टै राख्ने गरेकाले के कति धुलो संकलन भयो भनेर तथ्याङ्क राख्ने गरेको बिभागका नगर प्रहरी निरीक्षक पूर्ण भट्टले जानकारी दिएका छन । बिभागसँग चिनियाँ र इटालियन गरि ७ ओटा ब्रुमर भए पनि हाल ५ वटा इटालिएन ब्रुमर मात्रै संचालनमा रहेका छन् भने २ वटा चिनियाँ ब्रुमर भने प्राविधिक कठिनाईका कारण संचालनमा ल्याउन सकिएको छैन ।


महानगरका अनुसार अहिले काठमाडौंका कच्ची सडकबाहेकका स्थानबाट निरन्तर उक्त धूलो संकलनको काम हुँदै आएको छ । कच्चीसडक खण्डबाहेक सोल्टीमोडबाट त्रिपुरेश्वर, रत्नपार्क, सुन्धारा, जमल, महाराजगञ्ज, भगवतीबहाल–नक्साल, एयरपोर्ट, बानेश्वर, माइतीघरलगायतका स्थानमा धूलो संकलन गरिएको हो ।

बु्रमर लगाइएका क्षेत्रहरुमा पहिलेको अवस्थाभन्दा अहिले माक्स नलगाई हिँड्न सकिने अवस्था आएका महानगरको दाबी छ । तर केही स्थानहरुमा ठूला–ठूला भवनहरु निर्माणको क्रममा रहेकाले पनि केही समस्या आएको भट्टले बताए । ‘ निर्माणधीन भवनहरु तथा संरचनाका कारण माटो ओसार्ने क्रममा बाटोमा धुलो खसाउँदै हिँडने गाडीहरुले समस्या पारेका छन् । तर हामीले त्यस्ता गाडीहरुलाई कारवाही गरेका छौं’, भट्टले भने ।

हाल सम्म विभागले ७ महिनाको अवधिमा धरहरा, शेराटन होटल, काठमाडौं टावर, डबल ट्रि हिल्टनलगायतका निर्माणाधीन अवस्थामा रहेका संरचनाहरुको माटो बोक्ने गाडीहरुलाई पक्राउ गरी कारवाही गरिसकेको छ । विभागले ५ सय देखि १० हजारसम्म जरिवाना गर्ने र सोभन्दा माथी १ लाख रुपैयाँसम्म जरिवाना गर्न भने माथिको निर्णय आउनुपर्ने भट्टले जानकारी दिए ।

भट्टका अनुसार ३ ओटा सवारी चालकलाई २० हजार रुपैयाँका दरले कारवाहीसमेत गरिसकेको छ। एकपटक भन्दोबढी दोहोरिएर कारवाही गर्नु पर्यो भने पहिलाको रेकर्ड हेर्दै डबल जरिवाना गर्ने समेत उनले बताए ।

‘निर्माण हुनु पर्छ, तर, निर्माणको क्रममा उनीहरुले के कसरी काम गर्ने भनेर सरकारसँग सम्झौता समेत गरेको हुन्छ,’ उनले भने, ‘तर उनीहरुले सम्झौता अनुसार दायित्व पूरा नगरेका कारण सहरमा धुलो बढी उठने गरेको हो ।’ साथै ती गाडीहरुले सिमित मात्रै माटो नहाली थुप्रो बनाई हाल्ने, गाडी गुड्दा झर्ने माटो, गाडीको चक्कामा टाँसेर झर्ने माटोलगायतका प्रवृतिले धुलो बढेको उनको भनाई छ ।

सवारी चालक तथा ठेकेदारहरुलाई त्यस्तो कार्य नगर्न सुझाव दिँदासमेत नटेरे पछि कारवाही गर्न बाध्य भएको भट्टले बताए । ‘कलंकी, स्वयम्भु तथा कालिमाटीको बाटो सुधार गर्न सके बाटोमा उठ्ने धुलोमा केही सुधार आउन सकिन्छ नत्र भने समस्या संधै उस्तै हो’, उनले बिजखबरसँग भने । हाल महानगरले संकलन गरिरहेको धूलोे बिष्णुमती खोला किनारको महानगरकै जग्गामा भएको गहिरो भाग पुर्ने गरि जम्मा गर्ने गरिएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्