Logo

भरतपुर विमानस्थल १० दिनका लागि बन्द, मेघौलीमा साना बिमान जहाज चलाउन सक्नेगरी व्यवस्थापन

भरतपुर विमानस्थल १० दिनका लागि बन्द, मेघौलीमा साना बिमान जहाज चलाउन सक्नेगरी व्यवस्थापन



काठमाडौं । भरतपुर विमानस्थल आइतबारदेखि १० दिन बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भार गर्न आइतबारदेखि मङ्सिर २४ गतेसम्म बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले जानकारी दिएको छ । कार्यालयका प्रमुख पवनकुमार गौतमका अनुसार विमानस्थल १० दिन बन्द रहने सूचना जारी गरिसकिएको छ । धावनमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेकाले धावनमार्ग र पार्किङस्थल मर्मतसम्भारका लागि प्राधिकरणले ठेक्का लगाएको हो ।

‘आजदेखि १० दिन बन्द गरेर करीब एक हजार २०० मिटरको धावनमार्गमा मर्मतसम्भार गर्दैछौँ, ’ विमानस्थल प्रमुख गौतमले भने ‘पार्किङ पनि सुविधायुक्त बनाउँछौँ’, विमानस्थलको धावनमार्ग ठाउँ–ठाउँमा भत्किएको र कतैकतै उप्किएकाले मर्मतसम्भार गर्न लागिएको गौतमले बताए । झण्डै २० वर्षदेखि विमानस्थलको धावनमार्गमा ओभरले अर्थात कालोपत्रेमाथि थप कालोपत्रे गरिएको थिएन ।

नेपाल भ्रमण वर्ष शुरु हुनुभन्दा अगाडि पर्यटकको कम चापलाई ख्याल गरेर यो समय छानिएको प्रमुख गौतमले बताए। विमानस्थल ओभरले गर्दा ६० एमएमको पक्की हुनेछ । रातिको समयमा चिसो मौसम भएकाले काम गर्न नसक्ने तथा दिउँसोमा विमानका कारणले काम गर्न असहज भएकाले बन्द गरेरै काम गर्ने अनुमति लिइएको प्रमुख गौतमको भनाइ छ ।

हालको ७०÷७० मिटर रहेको पार्किङलाई बढाएर ९०÷८० को बनाइनेछ । अहिले साना जहाज चारवटा अटे पनि एटिआर र जेटस्टिमहरू एक साइडमा एउटा मात्रै अटाउन सक्छन् एउटा हेलिप्याड छुट्टै तयार हुन्छ । धावनमार्गमा रहेको कालोपत्रेमा थप गर्ने र पार्किङ क्षेत्र विस्तारका लागि रु चार करोड ४२ लाख ४७ हजार ७८८ लागत अनुमान गरिएको छ ।

बैसठ्ठी बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २०० मिटर लामो र ३० मिटर चौडा छ । हाल भरतपुरमा बुद्ध, यति र सिम्रिक एयरलाइन्सले उडान गर्ने गरेका छन् । भरतपुर–काठमाडौँ दैनिक आठ तथा बुद्ध र यतिले भरतपुर–पोखरा एक–एक उडान गर्दै आएका छन् । विमानस्थलबाट दैनिक ८०० यात्रुले सेवा लिँदै आएका छन् । भरतपुर विमानस्थल बन्द हुँदा मेघौलीमा साना जहाज चलाउन सक्नेगरी व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ । मन्त्रालयस्तरको कार्यदल गठन गरेर विमानस्थल विस्तार गरी ठूला जहाज उडान र अवतरण गर्न गृहकार्य थालिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्