काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मन्त्रीबाट बाहिरिदा आफुलाई थप उर्जा र प्रेरणा मिलेको बताएका छन् । उनले श्रम मन्त्रीबाट बाहिरिएको भोलिपल्ट आफ्नो फेसबुक पेजमा लेख्दै सोको जानकारी दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्दा श्रम मन्त्रीबाट विष्टलाई हटाएको भन्दै सामाजिक संजालमा कडा विरोध भैरहेको अवस्थामा उनले समाजिक संजालमा यस्तो लेखेका हुन् । अहिले सामाजिक संजालमा के आधारमा मन्त्रिमण्डल पुर्नगठन भयो ? खानेपानी मन्त्री विना मगर सफल, श्रम मन्त्री विष्ट कसरी असफल भन्ने प्रश्नहरु आएका छन् ।
‘जति दिन श्रममन्त्रीको रुपमा रहेँ, वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ,’ उनले फेसबुक पेजमा लेखेका छन्, ‘अहिले मन्त्रीबाट बाहिरिएको छु–थप उर्जा र प्रेरणाका साथ ।’
उनले मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु भन्दै सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबैमा हार्दिक धन्यवाद दिएका छन् ।
