Logo

हेटौडामा कर सप्ताह शुरु : भ्याटमा चारहजार बढी र प्यानमा ३१ हजार बढी करदाता दर्ता

हेटौडामा कर सप्ताह शुरु : भ्याटमा चारहजार बढी र प्यानमा ३१ हजार बढी करदाता दर्ता



हेटौडा । ‘आठौँ स्वच्छ कर प्रशासन, विकास र सुशासन’ भन्ने नाराका साथ यहाँ कर दिवस सप्ताह शुरु भएको छ । कर सप्ताहको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुललाले खर्चका अनुसार कर बुझाउनुपर्छ तथा कर तिर्नेहरुका लागि राज्यले करमैत्री वातावरण बनाउनुपर्छ भने।

त्यस्तै, प्रदेश नं ३ सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डा मुकुन्द पौडेलले देशमा करका लागि नयाँ नयाँ क्षेत्र जन्मिएको र ती क्षेत्रमा पनि करको दायरा बढाउनुपर्छ भने। मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवालले कर प्रणालीमा राज्यले भिसिटिसी लागू गरेको छ तर गाउँगाउँमा इन्टरनेट छैन त्यसैले यो प्रणाली अव्यावहारिक भएको बताए । उद्योग सङ्घ मकवानपुरका अध्यक्ष नवराज अर्यालले जनताबाट उठाएको कर विकास निर्माणमा प्रयोग भएको छैन, राज्यले खर्च पनि गरेको छैन र खर्च पारदर्शी पनि छैन भन्दै सरकारले गरेको खर्च जनतामा सार्वजनिक गर्नुपर्छ भने।

आन्तरिक राजश्व कार्यालय, हेटौँडाका प्रमुख सन्तबहादुर ढकालले कार्यालयमा कर दिनेको सहभागिता बढाउँदै कार्यालय स्थापनादेखि हालसम्म भ्याटमा चार हजार ३३७, अन्तःशुल्कतर्फ एक हजार ४२९, आयकरतर्फ २० हजार ९३६ र व्यक्तिगत प्यानतर्फ ३१ हजार ४९७ दर्ता भएको जानकारी दिए । कर सप्ताहको सात दिनभित्र जनचेतनामूलक कार्यक्रम, प्रचारप्रसार तथा उद्योगी–व्यवसायीसँग छलफल गर्ने कार्यक्रम रहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्