काठमाडौं । नेपाल चेम्बर अफ कमर्स, स्पेन र अष्ट्रेलियाका लागि नव नियुक्त राजदुतबीच भेटवार्ता भएको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ, स्पेनका लागि नव नियुक्त नेपाली राजदूत दावा फूजी शेर्पा तथा अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत महेश दाहालबीच आज चेम्बर सचिवालयमा भेटवार्ता भएको हो ।
भेटका क्रममा स्पेनका लागि नेपाली राजदूत शेर्पाले आफूले दुई मुलुकबीच आर्थिक सम्बन्ध मजबुत बनाउन आफ्नो पहिलो अनुभव भएकोले उच्च मनोबलका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन । उनले निजी क्षेत्रको सुझाव अनुसार आफूले नेपाली उत्पादन, लगानीका अवसरहरु तथा पर्यटन प्रवर्द्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र कुनै सहयोग आवश्यक भएमा चेम्बरसँग सम्पर्कमा रहेर काम गर्ने बताएका छन ।
सोही अवसरमा अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहालले नेपालमा उत्पादित वस्तुको बजार विस्तार गर्नु आफ्नो प्राथमिकतामा रहेको र द्धिपक्षीय सम्बन्ध विस्तार गर्न आफूले कार्य योजना बनाई सहजीकरण गर्ने बताएका छन ।
उनले नेपालमा निर्मित गरगहनाको निकासी बढाउन, नेपालमा लगानी अभिवृद्धि गर्न द्धिपक्षीय वाणिज्य सम्बन्ध वृद्धि गर्न, द्धिपक्षीय भ्रमणको आदान प्रदान गर्न आफुले जोड दिने बताउँदै नेपाल अष्ट्रेलियाबीच पर्यटन प्रवर्द्धन गर्न सिधा हवाई सेवाको मूर्त रुपमा कार्य गर्न सरोकारवालाहरुसँग छलफल गर्ने बताएका छन ।
साथै उनले न्यूजिल्याण्डमा ‘एभरेष्ट डे’ मनाई सगरमाथा चढ्नेहरुको शिखर सम्मेलन गरी पर्यटन प्रबद्र्धन गर्ने आफ्नो लक्ष्य रहेको बताए । कार्यक्रममा चेम्बर अध्यक्ष श्रेष्ठले नेपालमा जलविद्युत, पर्यटन, पेय पदार्थको उत्पादन लगायतका क्षेत्रमा स्पेनी लगानी एवं प्रविधि भित्रयाउन कुटनीतिक पहल हुनुपर्नेमा जोड दिएका छन ।
भेटमा अध्यक्ष श्रेष्ठले औद्योगिक/व्यापारीक प्रतिनिधीमण्डलको आदान प्रदान, पर्यटन मेला, एफडीआई आकर्षण, स्पेनका लगानीकर्तासँग नेपालका लगानीकर्ताबीच भेट, लगानी सम्भावना सम्बन्धी सूचना आदान प्रदान गर्नु पर्ने बताएका छन ।
त्यस्तै उनले नेपाली निर्यातकर्ताहरुको बजार विस्तार गर्न स्पेनका संभाब्य आयातकर्तासँग अन्तरक्रिया गराउन पहल गर्ने, नेपालको चिया तथा कफि निर्यातको लागि स्पेनका आयातकर्तासँग सम्बन्ध बढाउने, पर्यटन, नेपाल र बार्सिलोनाबीच सोझै हवाई सम्पर्क राख्न पहल गर्न राजदूत शेर्पाको भूमिका महत्वपूर्ण रहने बताएका छन ।
चेम्बरमा प्राप्त पछिल्लो तथ्यांक अनुसार सन् २०१८ मा स्पेनसँग ५४ लाख ८६ हजार ८ सय ४९ अमेरिकी डलर बराबर व्यापार घाटा रहेको छ । जसमा नेपालमा स्पेनबाट गत वर्ष सन् २०१८ मा ८२ लाख ७० हजार ५ अमेरिकी डलर बराबर आयात भएको छ भने नेपालबाट स्पेनमा २७ लाख ८३ हजार १ सय ५६ अमेरिकी डलरबराबर निर्यात भएको छ ।
नेपालले स्पेनतर्फ विशेष गरी तयारी पोशाक, गलैचा, हस्तकलाका सामग्रीहरु निर्यात गर्दैै आएको र स्पेनबाट मेशिनरी पार्टपूर्जाहरु, मेडिकल उपकरणहरु तथा पेय पदार्थ आयात गर्दै आएको छ । अष्ट्रेलियाका लागि राजदूत दाहालसँग अध्यक्ष श्रेष्ठले नेपालका विभिन्न प्राकृतिक स्रोत, जडिबुटी, मेडिसिनल प्लान्ट र कृषि उत्पादनहरु अष्ट्रेलियामा निकासीको पर्याप्त संभावना रहेकाले त्यसलाई पूर्ण सदुपयोग गर्न सहजिकरणको भूमिका निर्वाह गर्न आग्रह गरेका छन ।
२०१८ मा अष्ट्रेलियासँग १ करोड १९ लाख ४३ हजार ३ सय ६३ अमेरिकी डलर बराबर व्यापार घाटा रहेको छ । जसमा नेपालमा अष्ट्रेलियाबाट गत वर्ष ७ करोड २१ लाख १४ हजार ४ सय ६ अमेरिकी डलर बराबर आयात भएको छ ।