बिजखबर संवाददाता
३२ जेठ, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले भूकम्पले क्षतविक्षत नेपाललाई यथाशीघ्र पुनर्निर्माण गरी अझ सुन्दर, भूकम्प प्रतिरोधी र मजबूत बनाइने बताएका छन् । नुवाकोट बालकुमारीस्थित महादेव माध्यमिक विद्यालयको अस्थायी भवनको उद्घाटन गर्दै महतले आगामी बजेटमै पुनर्निर्माणका कार्यक्रमहरुको घोषणा गरिने बताएका छन् । ‘क्षति ठूलो भएकोले स्वदेशी साधन र स्रोतले मात्र पुग्दैन,’ उनले भने, ‘यस्तो बेलामा मित्रराष्ट्र तथा दाता संस्थाहरुबाट सहयोग परिचालन गर्न थुप्रै प्रयासहरु भैरहेका छन ।’
उनका अनुसार आगामी असार १० गते दाताहरुको अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको र सम्मेलनमा व्यक्त हुने सहयोग प्रतिवद्धतासँगै असारभित्रै बजेट ल्याई पुनर्निर्माणमा केन्द्रित हुनेछ । विद्यालय, निजी आवास, सरकारी भवन, राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्पदा, मठमन्दिरहरुको पुनर्निर्माण शीघ्र गरिने जनाउँदै निजी आवासका लागि भूकम्प प्रतिरोधी नमूना उपलब्ध गराउने जानकारी दिए ।
हाल उद्दार तथा राहतका काम सकिएको छ र अस्थायी निजी तथा अस्थायी विद्यालयहरु बर्षाअघि नै तयार भैसक्ने भन्दै बर्षापछि स्थायी पुनर्निर्माण थालिने जानकारी दिए । साथै, सडक, खानेपानी लगायत नियमित योजनाहरु पनि अगाडि बढ्ने उनको भनाइ थियो । ‘भूकम्पले धनजनको ठूलो क्षति मात्र गरेको छैन । नेपालीको मनस्थिति र आत्मवलमा समेत क्षति पुर्याएको छ,’ उनले भने, ‘तर, सँगसँगै अहिले नेपाली नेपालीबीच एकताको माहौल पनि बनेको छ । यसले गर्दा हामी वैशाख १२ भन्दा अघिको अवस्थामा छिटै फर्किनेछौं ।’
भूकम्पको पीडा विर्सेर मेहनतका साथ पढेर उत्कृष्ठता हासिल गर्न विद्यार्थीहरुलाई सल्लाह दिएका थिए । कार्यक्रममा कांग्रेस जिल्ला सचिव रमेशकुमार महत, जिविस प्रतिनिधि तथा स्रोतव्यक्ति मीनबहादुर श्रेष्ठ, रामजी पौडेल र आर्थिक सहयोग उपलब्ध गराउने अच्युत गुरागाईलगायतको सहभागिता रहेको थियो । अमेरिका निवासी वैकुण्ठ शर्मा तथा स्थानीय अच्युत गुरागाई, रामप्रसाद गुरागाईलगायतको सहयोगमा विद्यालयको अस्थायी पुनर्निर्माण गरिएको हो
सो अवसरमा अर्थमन्त्री डा महतले विद्यार्थीहरुलाई पाठ्यसामाग्री, पोशाक तथा आर्थिक सहायता उपलब्ध गराउनेहरुलाई प्रशंसापत्र दिएका थिए ।