बिजखबर संवाददाता
३१ जेठ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले निजी विद्यालयबाट १ महिनाको शुल्क मिनाहा गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । विभिन्न १३ विद्यार्थी सङगठनले निजी विद्यालयले गरेको शुल्कवृद्धि फिर्ता लिनुपर्ने र भूकम्पका कारण बन्द भएको अवधिको शुल्क मिनाहा गर्नुपर्ने माग राख्दै प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाए पछि उनले सो कुरा बताएका हुन् । ‘भुकम्पका कारण स्कुल बन्द भएको अवधिको शुल्क नलिन आजै बस्ने मन्त्री परिषद्को बैंठकमा शिक्षा मन्त्रीलाई निर्देशन दिनेछु,’ उनले भने, ‘तपाइहरुले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिनुहोस ।’
प्रधानमन्त्री कोइरालाले देशको भविष्य युवाहरुको हातमा रहेको बताउँदै विपद्को बेला सबै मिलेर अगाडि बढ्नुपर्ने बताए ।
विद्यार्थी सङगठनले जेठ ३१ गते प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने, ३२ गते जिल्लास्तरीय विद्यार्थीको बैठक बसी संयुक्त अनुगमन टोली निर्माण गर्ने र असार १ गतेदेखि सम्पूर्ण शिक्षण संस्थाका अभिभावकसमेतलाई समेटेर संयुक्त संघर्ष समिति बनाउने निर्णय गरेको थियो ।