Logo

कुनमिङ मेलामा भाग लिन महासंघको टोली चीनमा, नेपालको ९६ वटा स्टल रहने

कुनमिङ मेलामा भाग लिन महासंघको टोली चीनमा, नेपालको ९६ वटा स्टल रहने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२९ जेठ, काठमाडौं । चीनको युनान प्रान्तको कुनमिङ शहरमा आयोजना हुने १० औं चीन—दक्षिण एशिया व्यावसायिक फोरम बैठकमा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघका एक टोली चीन पुगेका छन् । महासंघका उपाध्यक्ष किशोर प्रधानको नेतृत्वमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ सहितको प्रतिनिधिमण्डल चीन गएका हुन् ।

बैठकमा महासंघको उद्योग समितिका सभापति उमेशलाल श्रेष्ठ, व्यापार मेला समितिका सभापति केशवराज पाण्डे, झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकाल, उद्योग संगठन मोरङका उपाध्यक्ष मुकेश कुमार भट्टराई, नेपाल हस्तकला महासंघका अध्यक्ष हेमरत्न शाक्य गएका छन् । त्यसैगरी महासंघका सहायक निर्देशकद्वय विष्णुराज ढकाल, अरुण कुमार श्रेष्ठ तथा उद्योग संगठन मोरङका कार्यकारी अधिकृत सोमनाथ अधिकारी सहित उद्यमी व्यवसायीहरु सम्मिलित प्रतिनिधिमण्डलले भाग लिने छ । बैठकमा दक्षिण एशियाली राष्ट्रहरु तथा चीनबाट सरकारी तथा निजी क्षेत्रको सहभागिता रहने छ ।

बैठक अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चीनियाँ परिषद, सार्क उद्योग वाणिज्य संघ र युनान प्रान्तीय जनसरकारको संयुक्त प्रायोजनामा हुन लागेको हो ।

उक्त बैठकमा नेपालका तर्फबाट महासंघका उपाध्यक्ष प्रधानले चीन–दक्षिण एशिया बीचको आर्थिक व्यापारिक, लगानीको सम्भाव्यता, विनासकारी भुकम्प पश्चात नेपालमा पुनर्निर्माणका लागि वाह्य लगानीको आवश्यकता समेटिएको मन्तव्य राख्नेछन् ।

भ्रमणकै क्रममा महासंघको प्रतिनिधिमण्डलले सोही स्थानमा आयोजना हुने तेश्रो चीन—दक्षिण एशिया व्यावसायिक सम्मेलन र २३ औं चाइना कुनमिङ आयात निर्यात वस्तु व्यापार मेलाको समेत अवलोकन गर्नेछ । गतवर्ष उक्त मेलामा नेपाललाई कन्ट्रिपार्टनरको रुपमा निम्त्याइएको थियो ।

सार्कका सवै सदस्य देशका उद्योग वाणिज्य संघ÷महासंघका पदाधिकारी प्रतिनिधिहरु लगायत उद्यमी व्यवसायीहरुको सहभागिता रहने मेलामा नेपालबाट ९६ वटा स्टल मार्फत नेपाली वस्तुहरुको प्रदर्शनी गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL