Logo

अर्थमन्त्री डा महत र विदेशमन्त्री स्वराजबीच भेटवार्ता, मोदीलाई विशेष अतिथिको निम्ता दिइने

अर्थमन्त्री डा महत र विदेशमन्त्री स्वराजबीच भेटवार्ता, मोदीलाई विशेष अतिथिको निम्ता दिइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२७ जेठ, काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा रामशरण महत र भारतीय विदेशमन्त्री सुषमा स्वाराजबीच भेट भएको छ । विदेशमन्त्री स्वराजको निवासमा भेट तथा छलफल भएको थियो ।

अर्थमन्त्री महतले गत वैशाख १२ गतेको महाभूकम्पका कारण नेपालमा धनजनको ठूलो क्षति भएको जानकारी दिदै यो विपतको घडीमा छिमेकीका हैसियतले भारतले पुर्याएको सहयोगका लागि आभार प्रकट गरेका छन् ।
साथै, बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर आगामी असार १० गते आयोजना हुने नेपाल सहायता सम्मेलनमा विशेष अतिथिको रुपमा सहभागिताका लागि निमन्त्रणा दिने कार्यक्रम रहेको छ । यसैगरी सोही दिन उनले भारतका वित्तमन्त्री अरुण जेट्लीलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

विदेशमन्त्री स्वाराजसँगको भेटका क्रममा अर्थमन्त्री डा महतले यो महाविपतका लागि नेपालको तयारी कमजोर भएपनि उद्दार तथा राहतमा पूर्ण शक्तिको परिचालन गरी प्रभावकारी ढंगले काम गरेको जानकारी गराएका थिए । ३ हजारभन्दा बढीलाई हेलिकोप्टरबाट अस्पतालमा पुर्याइएको र २२ हजारभन्दा बढी घाइतेको निशूल्क उपचार गरिएको बताए । विकट भौगोलिक अवस्था र प्राकृतिक विपत्तिको तयारी कमजोर रहेको अवस्थामा पनि सरकारले प्रभावकारी काम गर्न सकेको जानकारी दिदै उनले कुनै विरामी पनि औषधि उपचार गर्न नपाएर मर्नुनपरेको, राहत ढिलोचाँडो सबैतिर पुर्याइएको र खान नपाएर तथा उपचार नपाएर कसैले ज्यान गुमाउनु नपरेको स्पष्ट पारेका थिए ।

उनले सांस्कृतिक सम्पदाहरुले भरपूर नेपालका मूल्यवान सम्पदाहरु नस्ट भएका, विद्यालय, सरकारी भवन, निजी घरहरु ध्वस्त भएका र कतिपय गाउँलाई नै स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको जानकारी गराएका थिए । नेपालले अव क्षतिग्रस्त संरचनालाई भूकम्प प्रतिरोधी ढंगले शीघ्र निर्माणका लागि ध्यान केन्द्रित गर्न थालेको र यसैक्रममा विदेशी सहायता जुटाउन आगामी असार १० गते सम्मेलन गर्न लागेको अर्थमन्त्री डा महतले स्पष्ट पारे । पुनर्निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने भन्दै उनले छिमेकी मुलुक भारतबाट पनि ठूलो सहयोगको अपेक्षा गरेको धारणा व्यक्त गरेका छन् ।

नेपालले पुनर्निर्माणका लागि स्रोत जुटाउने महत्वपूर्ण माध्यमको रुपमा सहायता सम्मेलनको आयोजना गरेकोले आफू उक्त सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालका प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणा दिन आएको बताए । ‘यो विपतको घडीमा प्रधानमन्त्री मोदीले काठमाडौं पुगेर अवलोकन गर्नुहुनेछ र नेपालीलाई हौसला प्रदान गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं,’ उनले भने ।

सो अवसरमा भारतका विदेशमन्त्री सुषमा स्वाराजले छिमेकीका हैसियतले यो विपतको बेलामा नेपाललाई सक्दो सहयोग गर्न भारत तयार रहेको बताइन ।

भेटघाटका अवसरमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय तथा दूतावासका अधिकारीहरु र भारतको विदेश मन्त्रालयका सहसचिव अभय ठाकुरका साथै अन्य अधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL