काठमाडौं । चाबहिल–साँखु सडकखण्डको अवस्थाबारे बुझ्न सांसदहरु स्थलगत भ्रमणमा पुगेका छन ।
प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति, सदस्य र सडक आयोजनाका कर्मचारीसहितको टोलीले चाबहिल, जोरपाटी हुँदै साँखुसम्म पुग्ने सडकको अवलोकन गरेको हो । सभापति खडकाले तत्काल ब्यवस्थापन नगर्दा हुने दुर्घटनालाई रोक्न काम अघि बढाउन समेत निर्देशन दिएकी छिन ।
समितिका सभापति कल्याणीकुमारी खड्काले सडकको मर्मत तथा भत्काउन बाँकी रहेका घरको अवलोकन गर्दै काम छिटो सम्पन्न गर्न निर्देशन दिईसकेको बताएकी छिन । उनले महानगरीय प्रहरी वृत्त बौद्धको भवन अगाडि केही संरचना भत्काउनसमेत निर्देशन दिएकी छिन ।
विसं २०७२ मा २ बर्षभित्र चाबहिल–साँखु सडकखण्ड विस्तारको काम सक्ने गरी सडक निर्माण सुरु गरिएको थियो । सडक निर्माणको अवधि सकिँदा पनि अझै आधा काम सकिएको छैन । सरकारले चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा ४ लेनको सडक बनाउने योजना ल्याएको थियो । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि बोलपत्र आह्वान गरेर सोही बर्षको असोजमा ४ निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।
कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर रहेको उक्त सडकखण्डमा ४ कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप १ कम्पनी गरी ५ ठेकेदार कम्पनीले सडक विस्तार गरिरहेका छन/रासस