काठमाडौं । देशभर जबर्जस्ती करणीका घटना बढ्दै गएका छन । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा जबर्जस्ती करणीका मुद्दामा वृद्धि भएको हो ।
आव २०७४/७५ मा १ हजार ४ सय ८० मुद्दा दर्ता भएकामा आव २०७५/७६ मा १ हजार ८ सय ७३ मुद्दा दर्ता भएका छन । आव २०७३/७४ मा भने १ हजार १ सय ३७ मुद्दा दर्ता भएका थिए ।
केन्द्रिय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जबर्जस्ती करणीका घटना हिजोका दिनमा लुकाउने गरे पनि पछिल्लो समय प्रहरीलाई सूचना दिने प्रवृत्तिका कारण यस्ता घटनामा वृद्धि आएको बताएका छन ।
कुनै पनि महिलाको इच्छाबेगर जबर्जस्तीरूपमा यौन सम्पर्क गर्न खोज्नुलाई जबर्जस्ती करणी भनिन्छ । प्रहरी प्रवक्ता पोखरेल आफूले चिनेका व्यक्ति, आफ्नो नाता सम्बन्ध र छरछिमेकका व्यक्तिबाट धेरै जबर्जस्ती करणीका घटना हुने गरेको बताए ।
उनले भने, ‘हिजो विश्वास गरेका व्यक्ति, नाता र छरछिमेक आज अविश्वासमा परिणत भएको छ ।’ सामाजिक सञ्जाल र प्रविधिको प्रयोगबाट यस्ता घटना बढेकोे उनको भनाई रहेको छ/रासस