Logo

रूप फेर्याे बाग्लुङको ठाँटिले, ३७ लाखमा बन्यो लोभलाग्दो खाँई पुन पार्क

रूप फेर्याे बाग्लुङको ठाँटिले, ३७ लाखमा बन्यो लोभलाग्दो खाँई पुन पार्क



काठमाडौं । वरिपरि हरियाली उद्यान बीचमा चिटिक्क परेको ठाँटी । कतै पदयात्रा गर्न सिँढी त कतै विश्रामस्थल । यो हो बाग्लुङको गलकोट नगरपालिका–२ नरेठाँटीस्थित ‘खाँई पुन पार्क’ ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग छेउ भएकाले उद्यानमा झट्ट नजर ठोकिन्छ । त्यहाँ पुग्ने जो कोहीलाई उद्यानले लोभ्याउछ । पहिले उक्त स्थान उजाड थियो । ठाँटी जीर्ण अवस्थामा थियो । आफ्ना पूर्वजद्वारा निर्मित ठाँटीको अस्तित्व मेटिने देखेपछि ‘खाँई पुन मगर समाज’ले ठाँटी पुनर्निर्माण र उद्यानको योजना ल्यायो ।

अहिले ठाँटीले घरको झैँ स्वरुप पाएको छ । रङ्गरोगन र सजावटले आकर्षक देखिएको छ । ठाँटी वरिपरिको भू–भागलाई उद्यान बनाइएको छ । घेराबार र संरक्षण गरिएको छ । विसं १७८० मा नरि र हरि खाँई पुनले उक्त ठाँटी बनाएको इतिहास छ । त्यसबारेको शिलालेख ठाँटीमा उल्लेख गरिएको भेटिन्छ ।

सोही ठाँटीका नामबाट नरेठाँटी नाम रहन गएको जानकारहरु बताउँछन । पहिले बटुवाका लागि बास बस्नका लागि सार्वजनिक ठाउँमा ठाँटी बनाउने चलन थियो । पुर्खाहरुको इतिहास र योगदानलाई जीवन्त राख्न ठाँटी पुनर्निर्माण गरिएको ठाँटी संरक्षण तथा संवद्र्धन समितिका सचिव गोविन्द पुनले बताए ।

३७ लाख रुपैयाँ खर्चेर ठाँटी पुनर्निर्माण र उद्यान बनाइएको हो । उक्त कार्यका लागि देश विदेशमा छरिएर रहेका खाँई पुनहरुले आर्थिक सहयोग गरेको पुनले जानकारी दिएका छन ।

देश विदेशमा रहेका खाँई पुनहरु एकीकृत र सङ्गठित हुँदैछौँ । पुनले भने, ‘हाम्रो पहिचान र इतिहास जोगाउन आवश्यक छ ।’ उद्यानमा खाँई पुनहरुको इतिहास झल्कने स्तम्भ पनि राखिएको छ । यस्तै सन् १७८० मा निर्मित ठाँटीको पर्खाल पनि संरक्षित गरिएको छ ।

कुनै समयमा खाँई पुनहरुले शासन सम्हालेको र पछि राज्य खोसिएपछि लखेटिएको इतिहासमा उल्लेख छ । ठाँटीको पुनर्निर्माणले पुरानो इतिहासलाई चिर स्थायी बनाएको स्थानीयवासी बताउछन् । अहिले ठाँटीको उपयोगिता नरहेपनि धरोहरको रुपमा संरक्षण गरिनु सुखद् पक्ष हो ।

ठाँटी र उद्यानले पर्यटकीय आकर्षण थपेको वडा नं २ का वडाध्यक्ष हिमबहादुर भण्डारीले बताए । ‘नरेठाँटी बजारको सौन्दर्य बढेको छ’, उनले भने, ‘पर्यटनका हिसाबले पनि यसको महत्व छ ।’

इतिहास र खोजमा रुची राख्ने विद्यार्थी, अनुसन्धानकर्मीलाई पनि यो ठाँटी एउटा गन्तव्य बन्न सक्छ । यस्तै प्रकृत्तिमा रमाउन चाहने सर्वसाधारण तथा पर्यटकलाई पनि उद्यान उपयुक्त छ ।

ठाँटी तथा उद्यानको संरक्षण र विकासमा गलकोट नगरपालिकाले पनि सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालमा खाँई पुनका झण्डै ४०० बढी परिवार छन् । बागलुङको नरेठाँटी, लेखानीलगायतका ठाउँमा खाँई पुनहरुको बसोबास छ ।

हालसम्मको अध्ययनअनुसार खाँई पुनहरुको सबैभन्दा पुरानो थातथलो नरेठाँटीको तोरीखोला, घसघसा र पुरानो गाउँ रहेको पाइएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL