Logo

धुर्मुस–सुन्तली फाउण्डेशनलाई रङ्गशाला निर्माण सुरु गर्न आग्रह, आर्थिक संकलनका लागि प्रकृया अघि बढाईने

धुर्मुस–सुन्तली फाउण्डेशनलाई रङ्गशाला निर्माण सुरु गर्न आग्रह, आर्थिक संकलनका लागि प्रकृया अघि बढाईने



काठमाडौं । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया सुरु गर्न सम्बन्धित संस्थालाई आग्रह गरिएको छ । रङ्गशाला निर्माण सहयोग समिति चितवनको बुधबार बसेको सचिवालय बैठकले धुर्मुस–सुन्तली फाउण्डेशनलाई निर्माणको प्रक्रिया सुरु गर्न आग्रह गरेको हो ।

यही जेठ १५ गते रङ्गशाला निर्माणका क्रममा लगाएको बार स्थानीयवासीले भत्काएपछि फाउण्डेशनले काम रोकेको थियो । रङ्गशाला निर्माण सहयोग समितिका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्थानीयवासीसँग भएको विवादको टुङ्गो लागिसकेकाले फाउण्डेशनले काम अघि बढाउनुपर्ने बताएका छन । उनले रङ्गशाला निर्माणको काम सुरु भएसँगै आर्थिक सङ्कलनका लागि समितिले प्रक्रिया अगाडि बढाउने जानकारी दिएका छन ।

सो अवसरमा मानवअधिकार कानून तथा न्यायिक समितिका सभापति कृष्णभक्त पोखरेलले रङ्गशाला निर्माणका लागि चितवन एकताबद्ध भएको भन्दै फाउण्डेशनलाई काममा आउन आग्रह गरेका छन । यहाँ निर्माण हुनलागेको रङ्गशाला महानगरको मात्रै नभएर समग्र जिल्लावासीको गौरवको आयोजना भएको भन्दै सबैले मिलेर निर्माण सम्पन्न गर्न आवश्यक रहेको बताए ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरभित्र बन्न लागेको रङ्गशाला देशकै गौरवको आयोजना भएकाले जिल्लावासी एक भएर लाग्नुको विकल्प नरहेको बताए । रङ्गशाला निर्माणका लागि वातावरण तयार भइसकेको र सुरक्षाको व्यवस्थासमेत गरिएकाले कामलाई नरोक्न उनले आग्रह गरिन ।

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण हुनलागेको रङ्गशालाका लागि जिल्लामा ५ हजार १ सदस्यीय सहयोग समिति गठन गरिएको छ । यस्तै जिल्लाका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, सरकारी कार्यालय प्रमुख, निजी क्षेत्रका व्यवसायी संघसंस्थाका प्रमुख एवं प्रतिनिधि रहेको ७२ सदस्यीय सचिवालय र १३ सदस्यीय आर्थिक सहयोग समिति गठन गरिएको छ ।

बैठकमा उद्योगी व्यवसायीले रङ्गशाला निर्माणका लागि निजी क्षेत्रले गरेको लगानी पारदर्शी हुने/नहुनेमा चिन्ता व्यक्त गर्दै निर्माण प्रकृया सुरु गर्न आग्रह गरेका थिए/रासस

प्रतिक्रिया दिनुहोस्
MBL