Logo

खाद्य गुण नियन्त्रण विभागका महानिर्देशक कर्ण सहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर

खाद्य गुण नियन्त्रण विभागका महानिर्देशक कर्ण सहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर



काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्णसहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट खरिद गरिएको ४ ओटा प्रयोगशाला मोबाइल भ्यानमा भ्रष्टाचार भएको भन्दै उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनिहरुलाई भ्यान खरिद गरी कार्यालयमा नदेखाई कानूनलाई आफू अनुकूल प्रयोग गरी भ्रष्टचार गरेको र कार्यालयमा प्राप्त भएको भनी प्रगति देखाई रकम भुक्तानी गरेको आरोप लगाइएको छ । उक्त भ्यानको स्वीकृत मापदण्ड नपुगी सार्वजनिक ऐन नियमको उल्लंघन गरी अनियमितता गरेको विषयमा छानबिन गरी पाउँ भनि परेको उजुरीका आधारमा छानविन गरीएको थियो ।

उक्त छानविनको आधारमा विभाग र परियोजनाका लागि बोलपत्रको माध्यमद्वारा खरिद गरिएको चार थान भ्यान सप्लाई गर्ने कम्पनीले पनि गुण्स्तरहिन सामग्री उपलब्ध गराएको आरोप छ ।
अख्तियारले विभागका महानिर्देशक कर्ण, बरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नायब सुब्बा गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटारका उपसचिव (लेखा) गणेश प्रसाद चालिसे विरुद्ध मुद्दा दायर गरेको हो ।

यस्तै लेखापाल बालाराम पोख्रेल, तत्कालीन परियोजना निर्देशक नरहरि प्रसाद घिमिरे, बरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी, बरिष्ठ योजना अधिकृत तिलकराज चौलागाई, परियोजना निर्देशक लक्ष्मण प्रसाद पौडेल र बरिष्ठ अनुगमन मूल्यांकन अधिकृत इन्द्रहरि पौडेल र ल्याब कम्पनीका प्रतिनिधि प्रविण कुँवर विरुद्ध पनि मुद्दा दायर भएको छ । उक्त समुहले सो भ्यान खरिदमा २ पटक गरी २४ करोड ८० लाख ९५ हजार १ सय १६ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्