बिजखबर संवाददाता
२३ वैशाख, काठमाडौं । गैरआवासिय नेपाली संघ (एनआरएन)ले १ हजार भुकम्प पीडितलाई घर बनाईदिने भएको छ । एनआरएनले भूकम्पबाट घरबास गुमेका पीडितलाई भूकम्प प्रतिरोधी तथा वातावरणमैत्री घर बनाइदिने भएको हो ।
एनआरएनले सिन्धुपाल्चोक, काभ्रे, गोरखा, लमजुङ, नुवाकोट, धादिङ, रसुवा र रामेछापका गरिब तथा असाहय नागरिकलाई घर बनाएर दिने भएको हो । यसका लागि करीब ३५ करोड रुपैयाँ लगानी हुने एनआरएनका अध्यक्ष शेष घलेले बताए । वर्षातमा घरबासबीहिन नागरिक झनै पीडित हुने भएकाले घर बनाईदिन जुटेको उनले बताए ।
घर निर्माण गर्ने सम्बन्धमा एनआरएनले एक समिति समेत बनाइसकेको छ । समितिले इन्जिनियर, विज्ञ तथा सरकारसँग छलफल गरी घर निर्माण तथा हस्तान्तरण गर्ने उनले बताए । वर्षात अघिनै घर बनाएर हस्तान्तरण गर्ने योजना बनाएको छ ।
यसअघि एनआरएनले भूकम्प गएलगत्तै आठ जिल्लाका १० हजार परिवारलाई आपतकालिन राहत बितरण गर्ने घोषणा गरेको थियो । घोषणाअनुसार ८० प्रतिशत राहत वितरण सकिएको जानकारी दिइएको छ । एनआरएनले विभिन्न ठाउमा स्वास्थय शिविर समेत सञ्चालन गरेको उनले जानकारी दिए ।