Logo

स्मार्टकार्ड छाप्न मद्रास सेक्युरिटीसँग सम्झौता, १ महिनाभित्र सबैलाई स्मार्ट लाईसेन्स

स्मार्टकार्ड छाप्न मद्रास सेक्युरिटीसँग सम्झौता, १ महिनाभित्र सबैलाई स्मार्ट लाईसेन्स



काठमाडौं । यातायात ब्यवस्था विभागले सवारीसाधन अनुमतीपत्र स्मार्टकार्ड लाईसेन्सको छपाईका लागि मद्रास सेक्युरिटीलाई जिम्मा दिने भएको छ । विभागले आज एक कार्यक्रमकाबीच मद्राससँग सम्झौता गर्दै स्मार्ट लाईसेन्स छपाइको जिम्मा दिन लागेको हो ।

हाल वितरण गर्न बाँकी रहेका ५ लाख बढी स्मार्टकार्ड लाईसेन्सको वितरणलाई तीव्रता दिन मद्राससँग आजै सम्झौता गरिने यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिएका छन । १ महिनाअघि मात्रै उक्त कम्पनीलाई सवारी लाईसेन्स छपाईका लागि ग्लोबल टेण्डरमार्फत छनोट गरिएको थियो ।

छनोट अनुसार कम्पनीले सम्झौता भएको केही दिनमै विभागलाई सवारी लाईसेन्सलाई आवश्यक स्मार्टकार्ड, प्रिन्टर लगायतका सामानहरु पूर्ति गर्ने छ । कम्पनीले सबैभन्दा कम रकम विड गरेकाले छनोट गरिएको थियो । उनका अनुसार कम्पनीले विभागलाई मास प्रिन्टर उपलब्ध गराउँदै वितरण गर्न बाँकी रहेका सबै स्मार्टकार्ड लाईसेन्स १ महिनाभित्रै वितरण गर्न मद्दत मिल्नेछ ।

कम्पनीले १९ लाख ७० हजार अमेरिकी डलरमा विभागलाई मास प्रिन्टर लगायत स्मार्टकार्डहरु उपलब्ध गराउनेछ । विभागले हालसम्म वितरण गर्न नसकेका स्मार्टकार्ड लाईसेन्सहरु वितरण गरेपश्चात ट्रायल दिएको १ हप्तामै लाईसेन्स प्राप्त गर्न सकिने गरि काम थालेको पनि महानिर्देशक दाहालले बताएका छन ।

यस्तै विभागले देशभरका सार्वजनिक सवारीसाधनलाई सुरक्षित तथा भरपर्दाे बनाउन उचित कदम चालेको छ । उक्त कदम अनुसार विभागले आगामी आईतबार देखि विभिन्न स्थानका यात्रु टिकट कक्षहरु हटाउने निर्णय गरेको हो ।

विभागले काठमाडौंको गोंगबु बसपार्क बाहेक अन्य गौशाला, कोटेश्वर लगायतका टिकट काउन्टरहरु आगामी आईतबार बाट पुर्ण रुपमा बन्द गर्ने भएको हो । विभागका अनुसार लामो दुरीका यात्रुबाहक सवारीसाधनको टिकट बुकिङ गर्ने तथा जारी गर्ने काउन्टर खडा गरी सोही स्थानबाट यात्रु चढाउने र ओराल्ने कार्य गर्दै आएको हुँदा त्यसो गर्न लागिएको हो ।

विभागले भनेअनुसार उक्त टिकट काउन्टरहरु नहटाईए विभागले नै हटाउन बाध्य हुने जानकारी दिएको छ । आगामी आईतबारदेखि लागु हुनेगरी मध्यम तथा लामो दुरीमा चल्ने यात्रुबाहक सवारी साधनहरुका यात्रुले अनिवार्य रुपमा टिकट बोक्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्