Logo

साझाले थप्यो २० नयाँ शहरी बस, केही दिनमै काठमाडौं आईपुग्ने

साझाले थप्यो २० नयाँ शहरी बस, केही दिनमै काठमाडौं आईपुग्ने



काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा २० वटा नयाँ शहरी (सिटी) बस थपेको छ । केही महिना पहिले बस खरिदका लागि भएको ठेक्का सम्झौताबमोजिम छिमेकी भारतबाट ती बसहरु ल्याएको हो ।

साझाका प्रबन्धक महेन्द्रराज पाण्डेका अनुसार काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले संस्थाको सेयर खरिद गरेबापत प्राप्त रकमबाट नयाँ बस खरीद गरेको हो । उनले भने, ‘अहिले ती नयाँ बस रक्सौलमा आइपुगेको छ । भन्सार प्रक्रिया पूरा गरेर अब केही दिन भित्रै काठमाडौं आईपुग्ने छ ।’

बस काठमाडौं आइपुगे पछि उपत्यकामा माग भएका ठाउँ र आवश्यकता हेरेर सरकारसँग रुट माग गरिने पाण्डेले बताए । काठमाडौं महानगरपालिकाले ५ करोड र ललितपुर महानगरपालिकाले १ करोड रुपैयाँ बराबरको सेयर खरिद गरेका छन ।

विसं २०१९ मा बस सेवा सुरु गरेको साझा पहिले लोकप्रिय सार्वजनिक सवारी थियो । विभिन्न समस्याका कारण २ दशकसम्म साझाका सेवा ठप्प भयो । विसं २०७० वैशाखदेखि साझाले नयाँ बस खरीद गरेर पुन सेवा सञ्चालन गरेको थियो । पहिले उपत्यकाको शहरी क्षेत्रमा सीमित साझाका बस अहिले काठमाडौं उपत्यकाका ग्रामीण क्षेत्रसम्म फैलिएको छ ।

साझा यातायातले उपत्यकाका स्थानीय तहसँगको समन्वयमा बस खरिद गरी सेवा प्रदान गर्दै आईरहेको छ । साझा यातायातले गत वर्षदेखि ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर ‘सेमी लो स्टेप बस’ समेत सञ्चालनमा ल्याएको छ ।

साथै साझाले काठमाडौं देखि बागलुङ र काठमाडौं देखि कुश्मासम्मको लामो दूरीका दुई बस समेत सञ्चालन गरिरहेको छ /रासस

प्रतिक्रिया दिनुहोस्
MBL