काठमाडौं । सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन स्थानीय तह र बैंकसँग सहकार्य गर्ने भएको छ । सरकारले गत मंसिर ६ गते घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिक, कर्मचारी लगायतलाई समावेश गराउनका लागि कोषले बैंकसँग सहकार्य गर्न लागेको हो ।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले मंगलवार आयोजना गरेको सामाजिक सुरक्षा कोषसम्वन्धि अन्तरक्रिया कार्यक्रममा कोषका निर्देशक शंकर नेपालले सो कुरा बताएका हुन ।
कोषमा औपचारिक क्षेत्रका १० लाख कामदार र अनौपचारिक क्षेत्रमा रहेका ६० लाख जनतालाई सेवा पुर्याउनका लागि विभिन्न बैंकसँग समन्वय गरेर एकीकृत रुपमा काम गर्ने तयारी रहेको निर्देशक नेपालले जानकारी दिए ।
गाउँमा कोषको कार्यालय राख्न नसकिने र यसले व्ययभार वढ्ने भएकाले बैंक र स्थानीय तह उपयुक्त हुने नेपालले दाबी गरेका छन । उनले भने, ‘नेपालमा आर्थिक क्रियाकलापमा सक्रिय ६२ प्रतिशत जनता रहेको र यिनिहरुको जीवन सुरक्षा गर्दै भविष्य सुनिश्चित गर्नका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोष ल्याइएको हो ।’
श्रम ऐन र नियमावलीमार्फत नो वर्क नो पे तथा हायर एन्ड फायर लागू भएका कारण श्रमिकको सामाजिक सुरक्षाका लागि सामाजिक सुरक्षा ऐन आएको समेत उनले स्पष्ट पारे ।
कार्यक्रममा सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले जनताको स्वास्थ्य अधिकार सुनिश्चितताका लागि सामाजिक सुरक्षा कोषले अपरिहार्य भूमिका निभाउने बताएका छन ।
देशभरी सामाजिक न्यायको आधारमा यसलाई विस्तार गर्न प्रचार प्रसार गर्नुपर्नेमा जोड दिंदै उनले नागरिक समाज र स्थानीय तहलाई परिचालन गर्न सके सामाजिक सुरक्षा कोषले सफल्ता पाउने बताए ।
अन्तराष्ट्रिय श्रम संगठनका निर्देशक प्रकाश शर्माले नागरिक लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोषवीच हुने ओभरल्याप र डुप्लिकेसन हटाउँदै जानुपर्नेमा जोड दिएका छन । उनले सामाजिक सुरक्षाको अवधारणा सरकार, उद्यमी र कामदार त्रिपक्षीय सहभागितामा र वीनवीनको अवस्थामा आएको बताए ।
नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष रमेश बडालले सामाजिक सुरक्षा र योगदानमा आधारित सामाजिक सुरक्षा कोष फरक फरक कुरा भएको जानकारी दिए । सामाजिक सुरक्षाका लागि सरकारले कर लिन्छ भने योगदानमा आधारित सामाजिक सुरक्षा कोषका लागि कर नलिने समेत उनले स्पष्ट पारे ।
नेपाल उद्योग वाणिज्य महासंघका उपमहानिर्देशक हंशरामा पाण्डेले कम्पनी फर्म खारेज भए पनि श्रमिकको नम्बर रहिरहने र बेरोजगार भएको बेलामा समेत कोषले श्रमिकको हितमा काम गर्ने बताएका छन ।