Logo

मासुको गुणस्तर कायम गर्न १० पसललाई अनुदान, यस्तो छ प्रक्रिया

मासुको गुणस्तर कायम गर्न १० पसललाई अनुदान, यस्तो छ प्रक्रिया



काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा मासुको गुणस्तर सुधार गर्नका लागि १० वटा मासु पसललाई अनुदान रकम उपलब्ध गराउने भएको छ ।

कामपाले यस चालू आवमा मासुको गुणस्तर सुधार गर्न ३० वटा पसललाई अनुदान दिने भने पनि मापदण्डअनुरुप निवेदन प्राप्त नभएकाले १० पसलले मात्र रकम पाउने भएका हुन् ।

सार्वजनिक सूचना प्रकाशन गरेर निवेदन मागे पनि कम मात्र निवेदन परेको र परेका पनि मापदण्डनै नपुगेकाले १० वटालाई मात्र अनुदान दिइने कामपाको कृषि तथा पशु सेवा विभागका प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिए ।

प्राप्त निवेदनमध्येबाट मापदण्डका आधारमा तीन वटालाई साझेदारीमा मिटमार्ट स्थापना कार्यक्रमअन्तर्गत जनही १५ लाख, चार वटालाई मासुजन्य उद्योग प्रवद्र्धन कार्यक्रमअन्तर्गत जनही ५ लाख र तीन वटालाई मासु पसल सुधार कार्यक्रमअन्तर्गत जनही १ लाख अनुदान दिइने भएको हो ।

छनोटमा परेका व्यवसायी अहिले अनुदानबाट प्राप्त रकमबाट तयार गर्नुपर्ने पूर्वाधारमा लागेका छन् । विभागका प्रमुख भण्डारीका अनुसार छनोटमा परेका व्यवसायीको व्यावसायिक कार्ययोजना, अहिलेको पूर्वाधार र सुधार गर्नसक्ने आधारजस्ता सूचक हेरेर अनुदान उपलब्ध गराइएको हो ।

व्यवसायीले सञ्चालन गर्न लाग्ने रकमको ५० प्रतिशत कामपाबाट पाउनेछन् भने अन्य रकम सञ्चालक स्वयंले नै बेहोर्नुपर्ने हुन्छ । व्यवसायीलाई प्रोत्साहित गर्न अनुदान दिन खोजेको कामपाले जानकारी गराएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL