Logo

नेपालमा ८ लाख हेक्टर जमीन सिँचाइबाट वञ्चित, कहिले होला पुरा

नेपालमा ८ लाख हेक्टर जमीन सिँचाइबाट वञ्चित, कहिले होला पुरा



काठमाडौं । नेपालमा ८ लाख हेक्टर कृषियोग्य जमीन सिँचाइबाट वञ्चित रहेको छ ।

नेपालको २२ लाख ६५ हजार ४ सय ७९ हेक्टर जमीन सिँचाइयोग्य भए पनि हालसम्म १४ लाख ५४ हजार ६ सय १७ हेक्टर जमीनमा मात्रै सिँचाइ भइरहेको सरकारी तथ्याङ्कले देखाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा तयार पारिएको सिँचाई गुरुयोजना २०७५ मा सिँचाइ समस्याबारे उल्लेख गरिएको छ ।

सिँचाइविज्ञ शिवकुमार शर्माद्वारा तयार पारिएको उक्त गुरुयोजनामा प्रस्तुत तथ्याङ्कमा भूमिगत जलस्रोतबाट ४ लाख ९३ हजार ८ सय ४१, विभिन्न कुवा, नहर नदीका स्रोतबाट ९ लाख ६० हजार ७ सय ७६ हेक्टर जमीनमा सिँचाइ हुने गरेको उल्लेख छ ।

सिँचाई समस्या समाधानका लागि उक्त गुरुयोजनामा जलधारको वर्गीकरणसमेत गरिएको छ । वर्गीकरणमा कर्णाली, नारायणी र कोशी क्षेत्रलाई सिँचाइको जलाधारको रुपमा समेटिएको छ । साथै उक्त गुरुयोजनामा सिँचाइ विकासको अवधारणालाई समेत समेटिएको छ ।

उक्त अवधारणामा विद्यमान सिँचाइ प्रणालीको सवलीकरण, आधुनिकीकरण एवं व्यवस्थापन सुधार र सिञ्चित क्षेत्रको विस्तार उपलब्ध प्रविधिको अत्याधिक प्रयोग गरिनुपर्ने बताइएको छ ।

गुरुयोजनाअनुसार हाल नेपालमा ५ वटा निर्माणाधीन बृहत् योजना छन् । महाकाली सिँचाइ योजना तेस्रो चरण, रानी जमरा गुलरिया सिँचाइ योजना, बबई सिँचाइ योजना, सिक्टा सिँचाइ योजना तथा वड्कापथ सिँचाइ योजनालाई बृहत् योजनाका रुपमा समावेश गरिएको छ । सो गुरुयोजनाका बारेमा प्रदेशस्तरमा पनि छलफल एवं परामर्शको कार्य गरिएको छ / रासस

प्रतिक्रिया दिनुहोस्
MBL