Logo

समायोजनमा गएका १७५५ उपसचिवले आज पत्र बुझदै, स्थानीय तहमा ५ जना मात्रै

समायोजनमा गएका १७५५ उपसचिवले आज पत्र बुझदै, स्थानीय तहमा ५ जना मात्रै



काठमाडौं । समायोजन रोजेका उपसचिवहरुलाई सरकारले आज पत्र दिइने भएको छ ।

संघ, प्रदेश र स्थानीय तहमा समायोजन रोजेका करिब १ हजार ७ सय ५५ उपसचिवलाई आज समायोजनको पत्र दिन थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिएका छन । उनका अनुसार संघमा १ हजार ५ सय १३, प्रदेशमा २ सय ३७ र स्थानीय तहमा ५ जना उपसचिव रहेका छन् ।

ती कर्मचारीलाई मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले समायोजनको पत्र दिने भएका हुन । यसअघि मन्त्रालयले सचिव र सहसचिवलाई समायोजनको पत्र दिइसकेको छ । यसैगरी मन्त्रालयले अहिलेसम्म ३८ हजार ८ सय १७ कर्मचारीलाई समायोजन गरेको छ ।

तीमध्ये संघमा २८ हजार २५, प्रदेशमा ४ हजार ८ सय ४६ र स्थानीय तहमा ५ हजार ८ सय ३५ कर्मचारी रहेका छन् । प्रवक्ता अधिकारीले प्राविधिकतर्फका शाखा अधिकृत र स्वास्थ्य सेवा समूहका बाहेक अरु सबैको समायोजन क्रमशः हुँदै गइरहेको बताएका छन ।

यसैगरी ४ हजार ७ सय ९३ शाखा अधिकृतको समायोजन गरिएको छ । तीमध्ये संघमा ३ हजार ६ सय ४२, प्रदेशमा ५ सय ९३ र स्थानीय तहमा ५ सय ५८ रहेका छन् । समायोजन रोजेका शाखा अधिकृतलाई यही हप्ता समायोजनका पत्र दिइने प्रवक्ता अधिकारीले बताए । पत्र पाइसकेपछि कर्मचारी समायोजन रोजेको ठाउँमा जानुपर्ने उनले जानकारी दिएका हुन । करीब ८७ हजार कर्मचारीमध्ये ७७ हजारले समायोजन रोजेका थिए ।

सरकारले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारी समायोजन गर्दैछ / रासस

प्रतिक्रिया दिनुहोस्