काठमाडौं । अष्ट्रियाका विदेशमन्त्री करिना किनाइसल नेपाल भ्रमणमा आउने भएका छन् । करिना १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार नेपाल आउन लागेका हुन् ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेकी हुन् । अष्ट्रियाबाट विदेशमन्त्रीस्तरमा यो भ्रमण ३० वर्षपछि हुन लागेको हो ।
भ्रमणका क्रममा नेपाल र अष्ट्रियाबीच प्रतिनिधिमण्डल स्तरीय बैठक हुनेछ । दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा हुने उक्त बैठकमा द्विपक्षीय हित र चासोका सबै विषयका साथै क्षेत्रीय र अन्तरराष्ट्रिय महत्वका अन्य विषयमा पनि विचारविमर्श हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग विदेशमन्त्री किनाइसलले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै परराष्ट्र अध्ययन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा पनि सहभागी हुनेछन् । । उक्त प्रतिनिधिमण्डलमा पाँच पत्रकारसमेत छन । नेपाल भ्रमण वर्ष सन २०२० का सन्दर्भमा नेपालको प्रचारप्रसार गर्न अष्ट्रियाली सञ्चारकर्मीबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस