Logo

चितवनमा व्यवसायीले गरे यातायात बन्द, कर्मचारी रिहा नभएसम्म आन्दोलन गर्ने चेतावनी

चितवनमा व्यवसायीले गरे यातायात बन्द, कर्मचारी रिहा नभएसम्म आन्दोलन गर्ने चेतावनी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

३० चैत,काठमाडौं । चितवनका यातायात व्यवसायीले नै सोमबार जिल्लाबाट चल्ने यातायात बन्द गराएका छन् ।

यातायातका कर्मचारीमाथि प्रहरीले ज्यादती गरेको आरोप लगाउँदै उनीहरुले यातायात बन्द गरेका हुन् । प्रहरीले बिना कारण आफ्ना कर्मचारीलाई पक्राउ गरी मुद्दा चलाएको भन्दै सोमबार चितवनमा सवारी बन्द गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका नारायणी अञ्चल संयोजक कपिल पाण्डेले जानकारी दिए ।

यातायात व्यवसायीको बन्दका कारण सोमबार बिहानैदेखि चितवनबाट देशका विभिन्न क्षेत्रमा चल्ने सवारी ठप्प भएका छन् । व्यवसायीले आ–आफ्ना सवारी साधन सबै घरमा थन्क्याएको पाण्डेले बताए । चितवनबाट करीब दैनिक ५ सय बढी यातायातका साधन चल्ने गरेका छन् । बन्दका कारण चितवनबाट काठमाडौँलगायत विभिन्न जिल्लामा जाने यात्रु प्रभावित भएका छन् ।

दुई दिनअघि चितवन रामपुरबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बा२ख ५०३० नम्बरको माइक्रोका सहचालक प्रकाश सुनार, बा२ख ९३०८ केशव न्यौपाने तथा अर्का एकनाथ ढुङ्गानालाई नारायणगढ पुल्चोकबाट प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई अहिले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । उनीहरुले नारायणगढमा दलाली गरी यात्रुलाई प्रहरीकै सामु दुःख दिएकाले पक्राउ गरी कारबाही चलाएको थापाले बताएका छन् । आफ्ना कर्मचारी रिहाइ नभएसम्म आन्दोलन जारी राख्ने यातायात व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्