बिजखबर संवाददाता
२९ चैत, काठमाडौं । पछिल्लो समय नेपालीको ऋणभार बढेको छ । महालेखापरीक्षकको प्रतिवेदन अनुसार अव नेपालीले जन्मने वित्तिकै २० हजार ६९ रुपैयाँ ऋणभार बोक्नुपर्ने भएको छ ।
यो ऋण भार गत वर्षको तुलनामा ३६ रुपैयाँ ३२ पैसाले बढी हो । अघिल्लो वर्ष प्रत्येक नेपालीलाई २० हजार ३८ रुपैयाँ ३२ पैसा ऋण भार रहेको थियो ।
पछिल्लो समय सरकारले कुल ऋण दायित्व बढेसँगै प्रत्येक नेपालीमा पर्ने आउने ऋणभार समेत बढेको हो । महालेखापरीक्षकको प्रतिवेदन अनुसार आव २०७०/७१ मा सरकारको ऋण भार ५ खर्ब ५३ अर्ब ५० करोड ७७ लाख रुपैयाँ रहेको छ । जसमध्ये आन्तरिक ऋणमा २ खर्ब ६ खर्ब ६८ करोड ८६ लाख रुपैयाँ रहेको छ भने वैदेशिक ऋणमा ३ खर्ब ४६ अर्ब ८१ करोड ९१ लाख रुपैयाँ रहेको छ ।
यो ऋण नेपाल सरकारको कुल ग्राह्स्थ्य उत्पादनको २८ दशमलव ७० प्रतिशत हो । आव २०७०/७१ मा नेपालको कुल ग्राह्स्थ्य उत्पादन १९ खर्ब २८ अर्ब रुपैयाँ रहेको थियो ।