Logo

लाईसेन्स लिखित परीक्षाको नतिजा र प्रिन्टको जानकारी एसएमएसबाटै, यस्तो छ थाहा पाउने तरिका

लाईसेन्स लिखित परीक्षाको नतिजा र प्रिन्टको जानकारी एसएमएसबाटै, यस्तो छ थाहा पाउने तरिका



काठमाडौं । सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा पास भए नभएको जानकारी अब एसएमएसबाटै प्राप्त गर्न सकिने भएको छ ।

यसैगरी सवारी लाईसेन्सको ट्रायल पास भएर वा नविकरण गर्न दिएर स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका आवेदकले आफ्नो लाइसेन्स प्रिन्ट भएनभएको थाहा पाउन पनि अब विभागमा धाउनु पर्ने भएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक लावन्य कुमार ढकाल र स्पेरो एसएमएस प्रा.लि.का प्रबन्ध निर्देशक अरविन्द साहले आयोजित एक कार्यक्रमबीच संयुक्त रुपमा उक्त सेवाको सुरुवात गरेका हुन् ।

उक्त सेवाको सुरुवातसँगै सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा थाहा पाउन डब्लुटी लेखेर एउटा स्पेस छाडी एप्लिकेन्ट आईडी टाइप गरेर ३३००१ मा एसएमएस गर्न सकिनेछ । एसएमएस पठाउनासाथ पास वा फेल जे भएको छ त्यसको म्यासेज सम्बन्धित व्यक्तिले पाउनेछन् ।

त्यसैगरी, आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए–नभएको थाहा पाउनका लागि भने एलसी टाइप गरी एक स्पेस दिएर एप्लिकेन्ट आईडी टाइप गरी ३३००१ मा एसएमएस गर्न सकिनेछ । त्यसपछि लाईसेन्स प्रिन्ट भएको वा नभएको तत्कालै जानकारी पाउन सकिने छ ।

उक्त प्रणालीको सुरुवात गर्दै महानिर्देशक ढकालले एसएमएसमार्फत सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको परिणाम कुर्दै गरेका र स्मार्ट ड्राइभिङ लाईसेन्स कुर्दै गरेका सेवाग्राहीलाई अब सूचना प्राप्त गर्न सहज हुने बताएका छन ।

नेपालमा ४ वर्ष पहिले कागजी लाइसेन्स हटाएर ‘स्मार्ट’ चालक अनुमतिपत्रको वितरण थालिएको थियो । यसमा देखिनेगरी चालकसँग सम्बन्धित फोटोसहितका विवरणहरु राखिएका हुन्छन् ।

यसबाहेक यसमा सीमकार्डमा जस्तै धातुको चिप जडान गरिएको हुन्छ जसमा चालक र सवारीसँग सम्बन्धित डाटाहरु स्टोर गरिन्छ । त्यहाँका डाटालाई विभाग र प्रहरीले साझेदारी गरेर हेर्न सक्छन् । कुनै सवारी चालक ट्राफिक प्रहरीको कारवाहीमा परेमा त्यसैमा कारवाही भएको रकेर्ड राखिनेछ ।

आधुनिक प्रविधि र उत्कृष्ट गुणस्तरको लाइसेन्स नक्कली छाप्न नमिल्ने, आगोले नडढ्ने, अक्षर नमेटिने, सेवाग्राहीमैत्री र ई– गभर्नेन्स लागू गर्न सहयोगी हुने यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL