Logo

डाक्टरहरुलाई काममा फर्कन सरकारको आग्रह, काममा नगए कारबाही गर्ने चेतावनी

डाक्टरहरुलाई काममा फर्कन सरकारको आग्रह, काममा नगए कारबाही गर्ने चेतावनी



काठमाडौं । स्वास्थ्य मन्त्रालयले अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न माग गर्दै डाक्टरहरूले गरेका विरोध कार्यक्रम बन्द नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले आकस्मिक बाहेकका अन्य स्वास्थ्य सेवा बन्द गर्ने घोषणा फिर्ता नगरे डाक्टरहरूलाई अत्यावश्यक सेवा ऐन अन्तर्गत कारबाही गर्ने चेतावनी दिएको हो ।

स्वास्थ्य सेवाजस्तो जनसरोकार र संवेदनशील मानवीय जीवनसँग सम्बन्धित प्रत्यक्ष सरोकार राख्ने सेवा अवरोध हुन नदिन आफू गम्भीर रहेको मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

मन्त्रालयले उक्त विरोध तथा आन्दोलन स्थगित नगरिए आवश्यक सेवा सञ्चालन सम्बन्धी ऐन २०१४ बमोजिम कारबाही प्रकृया अघि बढाउन मन्त्रालय बाध्य हुने जनाएको छ ।

आवश्यक सेवा दिने संस्थामा हडताल गर्नेलाई ६ महिनासम्म जेल सजाय गर्ने सकिने कानुनमा उल्लेख छ ।

नेपाल चिकित्सक संघले शुक्रबारदेखि देशभर आकस्मिकबाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरूपमा बन्द गरेको थियो। केसीसँगको सम्झौता लागू गरी उनको जीवनरक्षा गर्न माग गर्दै डाक्टरहरू आन्दोलनमा उत्रिएका छन् । अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि सरकारले चासो नदेखाएको भन्दै संघले काम ठप्प गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL