Logo

नेतृत्वमा विवाद देखिएपछि रेनल्ट र निशानलाई एक बनाईँदै, जापानसँग फ्रान्सले गर्याे प्रस्ताव

नेतृत्वमा विवाद देखिएपछि रेनल्ट र निशानलाई एक बनाईँदै, जापानसँग फ्रान्सले गर्याे प्रस्ताव



काठमाडौं । फ्रान्सले जापानी तथा फ्रान्सेली कार कम्पनीहरू, निशान र रेनल्टलाई एउटै कम्पनीमा मिसाउने (मर्जर) प्रस्ताव अघि सारेको छ । निशानका अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितता गरेको आरोपमा पक्राउ गरेपछि फ्रान्सले उक्त प्रस्ताव ल्याएको हो ।

तर फ्रान्सका वित्तमन्त्रीले भने वर्तमान संरचनालाई परिवर्तन गर्ने औपचारिक प्रस्ताव भैनसकेको बताएका छन् ।

जापानी निशान, मिटसुबिसी र फ्रान्सको रेनल्टबीच शक्तिशाली गठबन्धन गराएर नेतृत्व सम्हालेका गोसनलाई गत बर्षको नोभेम्बरमा आर्थिक अनियमितता गरेको आरोपमा पक्राउपछि नेतृत्वबारे विवाद देखिएको छ ।

रेनल्टका निर्देशकसमेत रहेका मार्टिन भियालको नेतृत्व रहेको प्रतिनिधिमण्डलले जापानी अधिकारीलाई टोकियोमा २ कम्पनीलाई विलय गराउने प्रस्ताव गरेको जापानी समाचार संस्था, क्योदो न्यूज एजेन्सीले यस मामिलामा जानकार स्रोतलाई उद्धृत गरी समाचार लेखेको छ ।

रेनल्टमा फ्रान्स सरकारको सबैभन्दा बढी अर्थात् १५ प्रतिशतभन्दा बढि शेयर रहेको छ भने जापानी निशान कम्पनीमा रेनल्टको ४३ दशमलव ४ प्रतिशत शेयर रहेको छ ।
‘दुवैलाई मिलाउने प्रस्ताव फ्रान्सका राष्ट्रपतिको इच्छा अनुसार आएको हो,’ क्योदोले लेखेको छ ।

जापानको आर्थिक दैनिक निक्केइले पनि फ्रान्सको प्रतिनिधिमण्डलले दुई कम्पनीलाई एक (विलय) गराउने प्रस्ताव गरेको तर निशानले उक्त प्रस्तावमाथि विरोध जनाएको लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL