काठमाडौं । सन २०१८ मा मात्रै करिव १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन ।
उक्त समयमा नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमार्फत ९ लाख ६९ हजार र विभिन्न नाकाबाट सडकको बाटो हुँदै २ लाख ३ हजार जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले जानकारी दिएको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार पर्यटन क्षेत्रमा विशेष सुधारका कामहरु भएकाले पर्यटकको आगमनमा बढोत्तरी भएको हो । यो वृद्धि अघिल्लो बर्ष अर्थात २०१७ को तुलनामा २४ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा भारतबाट आउने पर्यटक भने २४ प्रतिशतले वृद्धि भएका छन भने श्रीलंका बाट आउने पर्यटकमा २०१७ को तुलनामा ५५ प्रतिशतले वृद्धि भएको छ । साथै समग्रमा सार्क राष्ट्रहरुबाट नेपाल आउने पर्यटकमा भने २६ प्रतिशतले वृद्धि भएको हो ।
यस्तै २०१८ मा चीनबाट मात्रै १ लाख ५३ हजार ६ सय २ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन जुन २०१७ को तुलनामा ४६ दशमलव ८ प्रतिशतले बढी हो । यस्तै थाईल्याण्डबाट आउने पर्यटक भने २०१८ मा ३६ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै भिजिट नेपाल बर्षका रुपमा मनाउन लागिएको सन २०२० लाई पछिल्लो २ महिनाले मात्रै ४७ प्रतिशत पर्यटकलाई भित्र्याउन सहयोग पुगेको छ ।