Logo

हुण्डीवालाको निसानामा अर्थमन्त्री डा.महत

हुण्डीवालाको निसानामा अर्थमन्त्री डा.महत


रामराजा श्रेष्ठ
0
Shares

विश्वामित्र खनाल

२३ चैत सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलिया भ्रमणमा आएका अर्थमन्त्री डा रामशरण महतसँग यहाँ बसोबास गर्ने नेपालीहरुले भेटेर आफ्ना मनका कुरा राख्न पाएकोमा प्रशन्नता व्यक्त गरेपनि नेपालीहरुकै आम्दानीलाई अवैधरुपमा हुण्डी गर्नेहरु भने तिलमिलाएका छन ।

गत अप्रिल १ तारेखका दिन अर्थमन्त्री डा रामशरण महत सिड्नी ओर्लनुपूर्व नै उनको भ्रमण कार्य–तालिकालाई लिएर यहाँ कार्यरत हुण्डी व्यवसायीहरुले विवादित वनाउन थालेका थिए । सिड्नीका केही हुण्डी व्यवसायीहरुले उनको भ्रमणको प्रमुख कार्यक्रम ग्लोबल आईएमई वैंकको प्रतिनिधि कार्यालय उद्घाटनलाई निशाना वनाएर सामाजिक सञ्जालका भित्ताहरु रङ्ग्याउन पुगेका थिए ।

अष्ट्रेलियामा करिब एक लाख नेपाली रहेको अनुमान छ । सिड्नीमा मात्र करिब ५० हजारको संख्यामा नेपालीहरु बसोबास गर्छन । यहाँ बस्ने नेपालीहरुले हुण्डीमार्फत पैसा पठाउने गर्छन । गैरआवासीय नेपाली संघ अष्ट्रेलिया र अष्ट्रेलिया बिजनेस काउन्सिलले आयोजना गरेको कार्यक्रममा केही सहभागीहरुबाट अष्ट्रेलियामा रहेका नेपालीहरुले हुण्डीमार्फत पैसा पठाउने गरेको कुरा उठेको थियो । सो कुरा उठ्नासाथ अर्थमन्त्री डा महतले भने, हुण्डीमार्फत पैसा पठाउने काम अवैध हो । प्रतिष्ठा बढ्ने कानूनी र बैध काम गर्नुहोस । यसले मात्र तपाईहरुको र समग्रमा नेपालको इज्जत तथा प्रतिष्ठा बढाउँछ । हुण्डीमार्फत पैसा पठाएर गैरकानूनी कामलाई प्रश्रय दिदा नेपालको अर्थतन्त्रलाई पनि सहयोग पुग्दैन । समानान्तर अर्थतन्त्रले फस्टाउने मौका पाउँछ ।

बैंकको प्रतिनिधि कार्यालयको उद्घाटनका क्रममा पनि उहाँले हुण्डीमार्फत कारोबार गर्नेहरुलाई बैध काम गर्न आग्रह गर्दै भने, आफ्नै रेमिटान्स कम्पनी खोलेर पनि बैध तरिकाले पैसा पठाउन सकिन्छ । म यही सन्देश दिन पनि अष्ट्रेलिया आएको हो ।
अर्थमन्त्री डा. महतले वैंकको प्रतिनिधि कार्यालयको सिड्नीमा उद्घाटन गर्दै भनेका थिए, हुण्डीमार्फत कारोवार गर्दा कम मूल्य विजक तयार गरी सामानहरु नेपालमा आयात हुने हँदा भन्सार राजस्व संकलनमा ठूलो असर पुगिरहेको छ ।

झण्डै एक लाखको हाराहारीमा नेपालीहरुको वसोवास रहेको अष्ट्रेलियामा कुनै पनि वैधानिक व्यवस्था नहुँँदा, हालसम्म वैधानिक तवरले नगन्य मात्रामा रेमिट्यान्स नेपाल भित्रिने कार्य भइरहेको थियो । यस्तो अवस्थामा आईएमई वैकको प्रतिनिधि कार्यालयको स्थापनाले वैधानिक वैकिङ्ग प्रणालीवाट नेपालमा रेमिट्यान्स पठाउने वाटो खुलेको चार्टर्ड एकाउण्टेट प्रकाशजंग थापा बताउँछन् । उनले अष्ट्रेलियावाट वार्षिक कति रकम नेपाल रेमिटेन्सको रुपमा जान्छ भन्ने आधिकारिक तथ्याङ्क नभए पनि वार्षिक ५–६अर्व रुपैया नेपाल भित्रिने जानकारी दिए ।

ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालले ग्लोवल आईएमई वैंकले सिड्नीमा रहेको आफ्नो प्रतिनिधि कार्यालयमार्फत नेसनल बैंक अफ अस्टे«लिया न्याबसँग मिलेर वैधानिक तवरमा रेमिट्यान्स नेपाल पठाउने काममा सहजीकरणको काम गर्ने जानकारी दिए । उनले भने, हुण्डीमार्फत पठाउँदा महंगो पर्ने र २५ डलरसम्म तिनुपथ्र्यो अव प्रति कारोबार ७ डलरभन्दा बढी तिर्नुपर्दैन ।

अष्ट्रेलियाको लामो सरकारी विदा (ईष्टर चाड)को समयको छोटो भ्रमणका क्रममा पनि अर्थमन्त्री डा.महत र बैंकको कार्यक्रममा भाग लिन आएका यहाँको लेवर पार्टीका सिनेटर एवं फाइनान्स कमिटीका चेयरपर्सन फान दास्तारीसंग भेटघाट तथा कुराकानी भएको थियो । सो अवसरमा अर्थमन्त्री डा महतले दास्तारीसँग नेपालीहरुले भोगेका समस्याहरु समाधान गरिदिन आग्रह गरेका थिए । सो अवसरमा नेपालको वर्तमान आर्थिक अवस्था र नेपाल–अष्ट्रेलिया सम्वन्धको वारेमा पनि छलफल अनौपचारिक छलफल भएको थियो ।

यसैगरी बैंकको प्रतिनिधि कार्यालयको औपचारिक उद्घाटनपछि आयोजित कार्यक्रममा भाग लिन आएका सत्तारुढ लिवरल पार्टीका फेडरल पाल्र्यामेण्ट मेम्वर निकोलास भारभारीस्संग पनि अनौपचारिक वार्ता गरेका थिए । दुबै भेटघाटका क्रममा उहाँले नेपालीहरु सिर्जनशील र छिटो सिक्ने प्रबृत्तिका रहेको जानकारी दिए । उनीहरुले यहाँ भोगेका समस्याहरुलाई समाधान गर्न क्रियाशील भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । लामो सरकारी(पर्व) विदा र छोटो भ्रमण तालिकाका कारण समकक्षीसंग भेट गराउने समय तालिका मिलाउन असमर्थ भएको अष्ट्रेलियाका लागि नेपाली राजदुत रुद्र नेपालले जानकारी दिए ।

अर्थमन्त्री डा.महत चार दिने छोटो भ्रमण तालिकामा पनि नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा नेपाली समुदायका संघ–संगठनका प्रतिनिधिहरुसंग भेट गरी अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए । समितिका अध्यक्ष सन्तोष सिटौलाको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली समुदायका प्रतिनिधिहरुसंग उहाँले संक्रमणकालिन समयमा नेपालको अर्थ व्यवस्था र संविधान निर्माण, नेपाली काँग्रेसको दायित्व विषयमा अन्तरक्रिया भएको थियो ।

यसैगरी एनआरएन अष्ट्रेलियाले पनि अर्थमन्त्री डा.महतको सम्मानमा रात्रिभोज सहित नेपाली मुलका व्यापारीहरु र समुदायका प्रतिनिधिसंगको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । यसैगरी अर्थमन्त्री महतले अष्ट्रेलियाको क्यानवेरा स्थित नेपाली राजदुतावासको निरीक्षण गर्नुभयो । उहाँलाई राजदुतावासको समस्याहरुको वारेमा राजदुत नेपालले अवगत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL