काठमाडौं । स्थानीय तहसँगको समन्वय तथा नेपाल प्रहरीको आफ्नै स्रोत परिचालन गरी काठमाडौँ उपत्यकामा निगरानी बढाउन थप सिसी टिभी क्यामरा जडान गर्ने भएको छ ।
सरकारी योजनाअनुसार क्यामरा जोड्न महानगरीय प्रहरी कार्यालय काठमाडौंले संवेदनशील क्षेत्रको पहिचान गर्ने काम थालेको छ । स्थान पहिचानलगत्तै आन्तरिक स्रोतबाट ठेक्का आह्वान गरी पहिलो चरणमा ७५ स्थानमा क्यामरा जडान गर्ने तयारी गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिएका छन । क्यामरा जडानमा स्थानीय तहले समेत उच्च प्राथमिकता दिँदै आएका छन ।
केही महीनाअघि गृहमन्त्री रामबहादुर थापाकै उपस्थितिमा प्रहरी उच्च अधिकारीसँग भएको छलफलमा समेत उपत्यकाको स्थानीय तहका प्रमुखले सिसी क्यामरा जडानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै आवश्यक खर्चको जोहो गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए । क्यामरा राख्ने कामको गति भने सुस्तरुपमा अगाडि बढिरहेको छ । यद्यपि काम तीव्ररुपमा अघि बढेको प्रहरीको भनाइ छ ।
उपत्यकाका तीनै जिल्लाका आवश्यक क्षेत्रलाई सिसीबाट निगरानी गर्ने योजना हो, तर एकैचोटी सकिन्न, विस्तारै प्राथमिकताका आधारमा क्यामरा राख्दै जान्छौँ, थापाले भने ।
महानगरीय प्रहरी कार्यालय काठमाडौँले तीनै जिल्लाका संवेदनशील क्षेत्र पहिचान गरेर कति सिसी टिभी क्यामरा चाहिने हो त्यसको विवरण पठाउन महानगरीय ट्राफिक प्रहरी महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरमा पत्राचारसमेत गरिसकेको छ ।
विवरण आएपछि प्राथमिकताका आधारमा क्यामरा जडान हुने कार्यालयका प्रवक्ता पूजा सिंहले जानकारी दिएकी छिन । हाल काठमाडौँ उपत्यकामा ४ सय ६० को हाराहारीमा क्यामरा प्रयोग भइरहेको छ । काठमाडौंमा मात्रै ४ सय २ क्यामरा प्रयोगमा छ । भक्तपुरमा ३४ र ललितपुरमा २४ क्यामरा प्रयोगमा छन ।
थप गर्न लागिएको क्यामरा कस्तो खालको चाहिने, कति जिबीको आवश्यक पर्छ भनेर प्रहरी प्रधान कार्यालयसँग माग गरेको बताउँदै सिंहले त्यहाँबाट इञ्जिनियरले दिएको सुझावका आधारमा क्यामरा खरीद गरिने जानकारी दिएकी छिन । क्यामरा जोड्न स्थान छनोटका लागि गठन भएको समितिले अहिले आवश्यक काम गरिरहेको छ ।
मुख्यतः सिसी क्यामराको निगरानी महानगरीय प्रहरी कार्यालय काठमाडौँले गरिरहेको छ । विभिन्न क्षेत्रमा सञ्चार नेटवर्कसँग जोडेर नियन्त्रण कक्षबाट क्यामराको निगरानी हुँदै आएको छ । यसका लागि ७२ वटा कन्ट्रोल रुप भेइकल (सिआरभी) को समेत प्रयोग गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रहरी नायब महानिरीक्षक थापाले जानकारी दिएका छन ।
सिसी क्यामराकै कारण धेरै आपराधिक गतिविधिको निगरानी तथा अपराधमा संलग्न व्यक्ति पक्राउ परेका उदाहरण छन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाले पत्र आइपुगेकाले क्षेत्र पहिचान गरेर पेश गर्ने तयारी गरिएको बताएका छन ।
सवारी दुर्घटना गराएर फरार भएका चालक पक्रन र अदालतमा प्रमाण पेश गर्नसमेत प्रहरीका लागि सिसी क्यामराले ठूलो सहयोग गर्ने गरेको छ । तर आवश्यकमात्रामा क्यामरा नहुँदा भने घटनाको अनुसन्धानमा समस्या भइरहेको प्रहरीको भनाइ छ ।