काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २१औँ शताब्दी अनुकूल न्याय, शान्ति, समानता, विकास र समृद्धिका लागि साझा प्रयास हुनुपर्ने बताएका छन ।
आजदेखि शुरु भएको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को उद्घाटनमा बोल्दै प्रम ओलीले विज्ञान, प्रविधि, सञ्चारका क्षेत्रमा प्रगति भएपनि गरीबी, अशिक्षा, जलवायु परिवर्तन र स्वास्थ्य क्षेत्रका चुनौतीहरुको सामना गरिरहनुपरेको बताएका हुन ।
उनले अन्तरराष्ट्रिय व्यापार, नवप्रर्तन, संस्कृति आदिका माध्यमबाट एशियाली मूल्य र मान्यताका साथ सहकार्य बढाउन समेत आह्वान गरेका छन ।
जलवायु परिवर्तन विकास र मानवीय अस्तित्वकै लागि चुनौती भएकाले हिमालहरुको पग्लने क्रम रोक्ने उपायहरुबारे सोच्नुपर्नेमा समेत प्रम ओलीले जोड दिएका छन । प्रम ओलीले नेपालको शान्ति प्रक्रियाको मूलभूत सफलता, संविधान निर्माण र निर्वाचनहरुको चरणपछि मुलुक विकास र समृद्धिको चरणमा रहेको समेत बताएका छन ।
नेपाल सरकार तथा सङ्घीय संसद् नेपालको सहयोगमा युनिभर्सल पिस फेडरेसन, इण्टरनेशनल कन्फरेन्स अफ एशियन पोलिटिक्स (आइक्याप), इण्टरनेशनल एशोसिएसन अफ पार्लियामेन्ट फर पिस (आइएपिपी) लगायत संस्थाहरुको आयोजनामा दुई दिनसम्म जारी रहने सम्मेलनमा आधा दर्जन मुलुकका राष्ट्र÷सरकार प्रमुखका साथै अन्य मुलुकका विशिष्ट पाहुनाहरु सहभागी भएका छन ।
सम्मेलनमा ‘वर्तमान समयका गम्भीर चुनौतीमाथि सम्बोधन: अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मान्यता’ विषयमा विभिन्न सत्रमा बहस तथा छलफल हुनेछ ।
सम्मेलनमा लागि म्यान्मारका स्टेट काउन्सिलर आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडालगायतका राष्ट्र प्रमुखहरुको सहभागिता रहेको छ ।
सुकी र सेनको नेपालको औपचारिक भ्रमणसमेत भएकाले उनिहरुले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओलीलगायतसँग भेटवार्ता गरि ती मुलुक र नेपालबीच अलग–अलग द्विपक्षीय वार्ता भई सम्झौता समेत भइसकेको छ ।