काठमाडौं । विश्व ब्यापार संगठन (डब्लुटिओ)का सदस्य राष्ट्रले नेपाललाई १ सय ११ प्रश्न गरेका छन् । जेनेभामा हुन लागेको नेपाल व्यापार नीति समिक्षा (टीपीआर)का लागि उनीहरुले नेपाललाई प्रश्न गरेका हुन् ।
नेपालको व्यापार नीतिका बारेमा जेनेभामा आगामी ३ र ६ डिसेम्बरमा समिक्षा हुँदै छ । उक्त समिक्षा वैठकका लागि ती मुलुकले नेपालको व्यापार नीति, लगानीको अवसर, भन्सार तथा करको अवस्था लगायत विषयमा प्रश्न गरेका हुन् ।
नेपालको ब्यापार नितिको बारेमा जापान, थाईल्याण्ड, साउदी अरेबिया, इयु क्यानाडा लगायतका ९ वटा राष्ट्रले पठाएको १ सय ११ वटा प्रश्नको जवाफ डेडलाईन भित्रै पठाएको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले बताएका छन ।
डब्ल्यूटीओका १ सय ६४ सदस्य राष्ट्र उक्त समिक्षा वैठकमा सहभागी हुने छन् । नेपालले सचिव घिमिरेको नेतृत्वमा वैठकमा सहभागीता जनाउने छ । उक्त अवसरमा नेपालमा सन् २०१२ देखि २०१८ सम्म भएको ठूला परिवर्तन, सुधारका काम, विभिन्न सन्धी सम्झौतालगायत विषयमा जानकारी दिने उनले बताए ।
डब्ल्यूटीको फोरममा नेपालमा लगानीको वातावरण राम्रा भएको भन्दै लगानीका लािग आग्रह समेत गरिने उनले बताए ।