काठमाडौं । यातायात व्यबस्था विभागले केहि महिना अघि आव्हान गरेको स्मार्टकार्ड खरिदको बोलपत्रको म्याद थप गरेको छ ।
बुधबार अर्थमन्त्रालयले थप ४ लाख थान स्मार्टकार्ड खरिदका लागि बजेट विनियोजन गरेपछि टेन्डर आह्वानको म्याद थप गरिएको हो । व्याकहोल्डमा रहेका करिव ५ देखि ७ लाख स्मार्ट लाईसेन्सको छपाई छिटो छरितो गर्दै वितरण गर्नका लागि प्रिन्टर स्थापना तथा स्मार्टकार्ड खरिदका लागि टेन्डर आह्वान गरेको थियो ।
विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायका अनुसार केही महिना अघि मात्रै स्मार्ट लाईसेन्स खरिदका लागि बोलपत्र आव्हान गरिएको थियो । तर, उक्त स्मार्ट लाईसेन्सले हालको माग धान्न नसक्ने भएपछि स्मार्ट कार्ड खरिदका लागि पुनः टेन्डरको म्याद थप गरिएको हो । अव विभागले १० लाखओटा स्मार्टकार्ड लाईसेन्स एकैपटक खरिद गर्ने भएको हो ।
उनका अनुसार अर्थ मन्त्रालयले यही बुधबार मात्रै ४ लाख थान स्मार्टकार्ड खरिदका लागि बजेट निकासा गरेको हो । सो रकम आएसँगै विभागले टेण्डरको म्याद नै थप गरेको छ । विभागले यस अघि पेन्डिङमा रहेका करिव ७ लाख स्मार्टकार्ड लाईसेन्स वितरण गर्नमा ढिलाई गरिरहेको थियो । साथै विभागले उक्त पेन्डिङमा रहेका स्मार्ट कार्डहरुको वितरणमा तीव्रता दिन मालिका ईन्कर्पाेरेटलाई स्माटकार्ड छपाईको ठेका दिएको छ । कम्पनीले १ दिनमा २० हजारओटा स्मार्टकार्ड छाप्ने भन्दै काम अघि बढाईसकेको विभागले जानकारी दिएको छ ।
विभागका अनुसार कम्पनीले भनेबमोजिम नै काम गरे अबको २ महिनाभित्रै पेन्डिङमा रहेका सबै स्मार्टकार्डहरु वितरण गरिसकिने छ ।
यसका साथै विभागले बागमती अञ्चलमा मोटरसाईकलको दर्ता ९९९९ पुगेपछि अब प्रदेशको नाममा मोटरसाईकल दर्ता हुने जानकारी दिएको छ । विभागका अनुसार दर्ता नम्वर १ सय नजिक पुगेपछि रोकिएको मोटरसाईकलको दर्ता अब प्रदेशका आधारमा हुने भएको हो ।