Logo

काठमाडौँ–लुम्बिनी पर्यटकीय बस सञ्चालन, गौशालाबाट बिहान साढे ६ बजे छुट्ने

काठमाडौँ–लुम्बिनी पर्यटकीय बस सञ्चालन, गौशालाबाट बिहान साढे ६ बजे छुट्ने



काठमाडौं । ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँदेखि मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको छ ।

यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभल नेपालले सोमबार बिहानदेखि काठमाडौँ–सुनौली हुँदै लुुम्बिनीसम्म बस सञ्चालनमा ल्याएको हो । ट्राभल नेपालले यसअघि नै लुम्बिनी बस सञ्चालन गर्ने भनेपनि मुग्लिङ–नारायणघाटको बाटो र पूर्वाधारका कारण सञ्चालन गर्न सकेको थिएन ।

प्रालिका सञ्चालक प्रल्हाद लोहनीले लुम्बिनीको लागि तीनवटा अत्याधुनिक र सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको जानकारी दिए । सुविधायुक्त सोफा सिट रहेको बसमा चर्पीदेखि चुरोट पिउने कोठासम्म रहेको छ ।

काठमाडौंको गौशालाबाट बिहान ६ः३० बजे लुम्बिनीका लागि छुट्ने बसको टिकट ट्राभल नेपाल अनलाइनमार्फत समेत लिन सकिने लोहनीले बताए । ७ बस रहेको ट्राभल नेपालले ४ बस पोखरामा सञ्चालन गर्दै आएको छ ।

टुरिष्ट बस एशोसियसन अफ नेपाल (टिवान)का महासचिव कृष्ण आचार्यले मुलुकको पर्यटन विकासका लागि काठमाडौँ–लुम्बिनी बस सेवाले ठूलो सहयोग पुग्ने बताए ।
दैनिक आन्तरिक तथा बाह्य हजारौँ पर्यटकलाई ओहोरदोहोर गराउने पर्यटकीय बसका लागि काठमाडौँमा छुट्टै बसपार्क नहुँदा समस्या परेको छ । काठमाडौँको कान्तिपथ सडकबाट पर्यटक बोकेर आवतजावत गरिरहेका पर्यटकीय बस यतिबेला सोह्रखुट्टे सडकबाट यात्रु बोकेर ओहोरदोहोर गरिरहेका छन् ।

पर्यटनको विकासका लागि एशोसियसनले काठमाडौँदेखि जनकपुर र बर्दियामा पनि बस सञ्चालन गर्न लागे पनि पार्किङका लागि पूर्वाधारको विकास र सडक राम्रो नहुँदा समस्या परेको छ । काठमाडौँबाट देशका विभिन्न भागमा पर्यटक लैजान हाल एक सय हाराहारीका बसले यात्रुलाई सेवा दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्