गत शुक्रबार ७.५ रेक्टर स्केलको भूकम्पले इन्डोनेसियाको पालु क्षेत्रका करिब हजार भन्दा बढीले ज्यान गुमाउनुपर्यो । भूकम्पपछिको पीडासँग अझै पनि पालु क्षेत्र जुध्दैछ ।
भूकम्पको यो पीडाबीच अर्को एउटा दुःखद खबर पनि बाहिर आएको छ । पालु सहरको मुटिआरा अल जुफ्रे विमानस्थलमा कार्यरत २१ वर्षीय एयर ट्राफिक कन्ट्रोलर(एटीसी) एन्थोनिएस गुनावान एगङ्गले भूकम्पको सम्भावित क्षती बारे जान्दा जान्दै ज्यान गुमाउनु पर्यो ।
भूकम्प अघि पनि आफ्नो काममा व्यस्त एन्थोनिएस यसको सम्भावित जोखिमबारे जानकार रहेपनि उनले आफ्नो काम छाडेनन् । विमानस्थलको रनवेमा रहेको बाटिक एयरलाइन्सको जहाजलाई उनले उडानका लागि अनुमति दिए र आफू सदाका लागि विदा भए ।
भूकम्पको सूचना पछि पनि एन्थोनिएसलाई कामबाट फर्कन आग्रह गरिएपनि उनले हल्लिरहेको टावरबाट रनवेमा रहेको बाटिक एयरलाई तत्काल उडानका लागि आग्रह गरे । यो आग्रह भूकम्पभन्दा एक मिनेटभन्दा कम समयको थियो ।
‘बाटिक ६३२१ क्लियर फर टेक अफ’ अन्तिम पटक बाटिकका पाईलटसँग कुरा गरेपछि उनले टावरबाट हाम फाले । उपचारको पर्खाईमा रहँदै उनको ज्यान गयो ।
एन्थोनिएसको यस्तो घटना थाहा पाएपछि बाटिकको उक्त उडानका पाइलट माफेलाले आफू शब्दविहिन भएको प्रतिक्रिया दिएका छन् । उनको उडानमा चालकदलका सदस्यसहित १४७ जना सवार थिए ।
एन्थोनिएसले उक्त निर्णय नदिएको भए ठूलो क्षति हुन सक्ने माफेललाले बताएका छन् । उनले एन्थोनिएसको उक्त कामलाई ‘गार्जिएन एन्जल’ अर्थात अभिभावक भगवानको उपमा दिएका छन् ।
एयर नेभिगेसन इन्डोनेसियाका प्रवक्ता योहान्नेस सिरातले एन्थोनिएसको उक्त निर्णयले अरु सयौं यात्रुलाई समेत सुरक्षित बनाएको जनाएका छन् ।
मृत्युपछि एन्थोनिएसलाई ‘हिरो ट्राफिक कन्ट्रोलर’को उपमा सहित विश्वभर प्रशंसा गरिएको छ ।