Logo

विदा कटौतीको असर दशैंको अग्रिम टिकट बुकिङमा, दशैंमा घर जाने घटे

विदा कटौतीको असर दशैंको अग्रिम टिकट बुकिङमा, दशैंमा घर जाने घटे



काठमाडौं । सरकारले दशैं लक्षित विदा कटौती गरेसँगै त्यसको असर अग्रिम टिकट बुकिङमा देखिएको छ । सरकारले विदा कटौती गर्दै फुलपाती देखिमात्रै दशैंको विदा दिने व्यवस्था गरेसँगै दशैमा घर जानेको संख्यामा गिरावट आएको सम्बद्ध यातायात व्यवसायीहरु बताउँछन् ।

यातायात व्यवसायीहरुका अनुसार अघिल्ला बर्षहरुमा यात्रुहरु दशैंको लागि घटस्थापनादेखिनै टिकट बुकिङ गराएर घर जाने गर्दथे । तर, यस पटक भने फुलपाती वरिपरीको मात्र अग्रिम टिकट बुकिङ गराएका छन् । हालसम्मको टिकट बुकिङ हेर्दा अघिल्लो बर्षको तुलनामा राजधानी बाहिर दशैं मनाउनका लागि घर जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ ।

यातायात व्यबसायीहहरुका अनुसार अघिल्ला बर्षका दशैंमा घटस्थापनाको ३ दिन अगाडी देखि नै घर जाने यात्रुहरुको भिडभाड हुने गरेको थियो । त्यसो हुँदा दशैंको अन्तिम दिनसम्ममा यात्रुहरुको चापलाई सहजै रुपमा आत्मसात गरेर यात्रुहरुलाई आवतजावत गराईन्थ्यो । तर यसपाली भने फुलपाती देखि मात्रै विदा भएकाले यात्रुहरु पनि छोटो विदामा घर नजाने निर्णय गरेकाले होला सायद चाप अघिल्ला बर्षहरुको तुलनामा घटेको एक व्यवसायीले जानकारी दिए ।

यात्रुहरुको चाप पनि यो बर्ष विदाकै कारणले घटस्थापना भन्दा अघि या पछि नभई २६ गतेदेखि ३० गते सम्मका लागि धेरै छ । ‘सरकारले दशैंको लागि विदा कटौती गरेको हँुदा यातायात क्षेत्रमा नकारात्मक असर त परेको छ,’ नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘अघिल्ला बर्षहरुझैँ यसपाली घर जाने यात्रुहरुको संख्यामा पनि उल्लेख्य गिरावट आएकोे छ ।’

उनका अनुसार यसरी विदा कटौतीले यात्रुहरु घटेसँगै फुलपाती तथा अष्टमीका लागि यात्रुको चाप सोचे भन्दा धेरै छ । ‘२÷३ दिनलाई मात्र बुकिङ बढी हुँदा सो समयमा चाहिने जति बसहरुको संख्यामा कमि हुने देखिएको छ,’ उनले भने, ‘सो समयमा यात्रुहरुलाई सहज यात्राका लागि गाडीहरु थप गर्दै आएका छौं ।’

सोमबार यातायात व्यबसायी र यातायात व्यबस्था विभागबीच भएको बैठकमा व्यवसायीहरुले चाडवाडको बेला यात्रुहरुले सडकका कारण पाउने दुख कम गर्न सरकारलाई आग्रह गरेका छन । व्यबसायीहरुले घटस्थापना भन्दा अगाडीनै नागढुङगा नौविसे सडक खण्डमा ४ देखि ५ घण्टा हुने सवारी जाम दशैंको समयमा अझै बढ्ने भन्दै त्यसलाई तत्काल समाधान गर्न आग्रह गरेका छन् ।

यस्तै व्यबसायीहरुले नेपालभरका ग्रामिण भेगका सडकको पनि स्तरोन्नती गर्न आग्रह गरेका छन् । महासचिव सिटौलाका अनुसार हालसम्म दशैंका लागि ५० प्रतिशतमात्र अग्रिम टिकट बुकिङ भएको छ । तर, अघिल्ला बर्षमा यस्तो बुकिङ ८० देखि ९० प्रतिशतसम्म भइसक्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
MBL