काठमाडौं । पश्चिम नेपाल यातायात व्यबसायी संघले दशैंका लागि टिकटको अभाव हुन नदिन २० ओटा गाडी थप गरेको छ ।
पछिल्लो समय दशैंमा घर जानका लागि टिकट नपुगेको भन्दै संचारमाध्यममा समाचार आएसँगै यातायात ब्यवसायीले आजैदेखि थप २० वटा बस संचालनमा ल्याएको हो ।
यात्रुहरुले दशैंमा घर जानका लागि गाडी नपाउँदा समग्र व्यवसायमै नराम्रो असर परेपछि गुल्मी र अर्घाखाँचीका लागि २० ओटा गाडीहरु थपेको नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । ‘पछिल्लो समय संचारमाध्यममा चलेको हल्ला सबै झुटा हुन । हामीहरु दशैंको बेला घर जाने यात्रुको सुरक्षार्थ तथा सहज वातावरणका लागि तल्लिन छौं’, उनले भने ।
पश्चिम नेपालका लागि टिकटको कमि भएको समाचार लगातार मिडियामा आएकाले उक्त क्षेत्रका लागि नयाँ बसहरु थपिएको हो । नेपालभित्रै संचालनमा रहेका विभिन्न बसहरु नै दशैंको लागि भनेर अर्घाखाँचीका लागि १० ओटा र गुल्मीका लागि १० ओटा छुट्याईएको हो ।
त्यस्तै दशैंको बेलामा कलंकी नागढुङ्गा र नौबिसे मुग्लीन सडकखण्डको जाम हुन नदिन महासंघ लागिपरेको महासचिव सरोज सिटौलाले जानकारी दिए । सरकारले उक्त २ खण्डको व्यबस्थापन सहज ढङ्गले गरिदिनका लागि आह्वान गर्नुपर्ने उनले बताएका हुन ।