काठमाडौं । नेपाल खाद्य संस्थानले यस बर्षको दशैंलाई लक्षित गर्दै २ हजार खसीबोका काठमाडौंमा ल्याउने भएको छ । संस्थानले दशैं तिहार, छठ पर्वको लागि खसीबोका ल्याउने तयारी गरेको हो ।
उक्त खसीबोका तथा च्याङ्ग्रा घटस्थापनाको दिनसम्म काठमाडौंमा ल्याउने तयारी गरिएको सुचना अधिकारी शंकर सापकोटाले जानकारी दिए । उनका अनुसार दशैंमा काठमाडौंको मागलाई लक्षित गर्दै मुस्ताङ, तुल्सीपुर र हेटौडाबाट खसीबोका ल्याउन लागेको हो ।
उनका अनुसार मुस्ताङबाट १ हजारओटा च्याङ्ग्रा र तुल्सीपुर र हेटौडाबाट १ हजारओटा खसीबोका ल्याईने भएको हो । यस्तै संस्थानले विभिन्न स्थानमा सहुलियत दरका खाद्य पसलहरु पनि संचालनमा ल्याउने भएको छ । साल्ट ट्रेडिङको सहकार्यमा उपत्यकाका विभिन्न स्थानमा सुपथ मूल्य पसलहरु संचालनमा ल्याउने भएको हो ।