Logo

मंगलबार बिहानबाट दशैंको अग्रिम टिकट बुकिङ खुला, यी हुन काठमाडौंमा टिकट पाईने १० स्थान

मंगलबार बिहानबाट दशैंको अग्रिम टिकट बुकिङ खुला, यी हुन काठमाडौंमा टिकट पाईने १० स्थान



काठमाडौं । मंगलबार देखि दशैंको लागि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघको सोमबार बसेको बैठकले मंगलबार बिहान ९ बजेदेखि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको लागि दशैंको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

यातायात व्यबस्था विभागले भदौ २४ गतेदेखि नै खुल्ला गर्ने भनेको अग्रिम टिकट बुकिङ यातायात व्यबसायीहरुका विभिन्न मागका कारण सरेको थियो । विभागले यातायातमा भएको कार्टेलिङ अन्त्य भएको घोषणा गरेसँगै रुस्ट बनेका यातायात व्यबसायीले आफ्नो रोक्का गरिएको बैंक खाता खोलिनुपर्ने, सार्वजनिक यातायातको भाडादर समायोजना गरिनुपर्ने लगायतका माग राख्दै आएका थिए ।

नेपालीहरुको विशेष चाडका रुपमा मानिने दशैं तिहार तथा छठमा धेरै मानिसहरु आ–आफ्नो थातथलो जाने बेलामा यातायात व्यबसायीले यस्तै किसिमका मागहरु राख्दै दशैंको अग्रिम टिकट बुकिङ नखोल्ने बताएका थिए । त्यसैबेला नेपाल आयल निगमले ईन्धनको मूल्य बढाउँदा व्यबसायीहरु झन आक्रोसित हुँदै विभागसँग छलफल गरि ५ गते खोल्ने भनिएको टिकट बुकिङ पनि खारेज गरेका हुन ।

दशैं नजिकिँदै गर्दा यात्रुहरुको सहजताका लागि अग्रिम टिकट बुकिङ खोल्न आवश्यक भएकाले सरकारले व्यबसायीहरुसँगको छलफलमा सार्वजनिक यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्दै व्यबसायीलाई मनाएको हो । उक्त निर्णय भएसँगै यातायात व्यबस्था विभागको आधिकारिक पत्रको पर्खाईमा रहेको यातायात महासंघले विभागको पत्र पाएसँगै मंगलबारदेखि टिकट खोल्ने निर्णय गरेको महासचिव सरोज सिटौलाले जानकारी दिए ।

विभागले काठमाडौं बाहिर जाने यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै उपत्यकाका विभिन्न १० स्थानमा अग्रिम टिकट बुकिङ काउन्टर निर्माण गर्ने गरेको छ । यसबर्ष पनि विभागले अघिल्ला बर्षझैँ काठमाडौंको नयाँ बसपार्क, पुरानो बसपार्क, कलंकी, सुन्धारा, गौशाला, कोटेश्वर लगायत १० स्थानमा टिकट काउन्टर स्थापना गर्ने भएको हो । यात्रुको सहजतालाई ध्यानमा राख्दै एकै ठाउँमा धेरै यात्रुको लाईनले सास्ती नहोस भन्नका लागि यस्ता टिकट काउन्टरहरु संचालनमा ल्याउने गरिएको विभागका निर्देशक तथा प्रवक्ता गोकर्ण उपाध्यायले जानकारी दिए ।

यस्तै विभागले नाडाको सहकार्यमा काठमाडौंका विभिन्न १४ स्थानमा हेल्पडेस्क पनि संचालनमा ल्याउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL