Logo

पहिलो पटक लेखापरीक्षकको न्यूनतम पारीश्रमिक निर्धारण, १ जनाले १० वटा फर्ममात्र अडिट गर्न पाउने

पहिलो पटक लेखापरीक्षकको न्यूनतम पारीश्रमिक निर्धारण, १ जनाले १० वटा फर्ममात्र अडिट गर्न पाउने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर सम्बाददाता

१२ चैत, काठमाडौं । आगामी आर्थिक वर्षको शुरुदेखि लागु हुनेगरी चार्टर्ड एकाउण्टेण्ट तथा दर्तावाल लेखापरीक्षकको नयाँ न्यूनतम् पारीश्रमिक निर्धारण गरिएको छ । नेपाल चार्टर्ड एकाउन्टेण्ट संस्था (आईक्यान)ले आगामी साउनदेखि लागु हुने गरी न्यूनतम् पारीश्रमिकको नयाँ सूची तयार पारेको हो । झण्डै ५ वर्षअघि आईक्यानले सामान्य किसिमको पारीश्रमिक सूची तयार गरि त्यसैका आधारमा लेखापरिक्षण शुल्क लिँदै आएका थिए । संस्था लेखापरिक्षकहरुको नियामक निकाय हो ।

लेखाको महत्वप्रति लेखा व्यवसायीको उत्तरदायित्वबोध गराई व्यवसायको विकास, संरक्षण, मर्यादित र विश्वासिलो बनाइ राख्न समेत न्यूनतम् पारीश्रमिक निर्धारण आवश्यक भएको आईक्यान अध्यक्ष नरेन्द्र बताए । ‘बढेको शुल्कप्रति धेरैको चासो भएपनि लेखापरिक्षकको भुमिकालाई हेर्दा अहिलेको शुल्क बढी देखिँदैन’ उनले भने, ‘त्यही स्तरको जनशक्तिले बाहिर काम गर्दा कति कमाउँछ भन्ने आधारमा धेरै क्षेत्र र पक्षसँगको छलफल र परामर्शपछि नयाँ शुल्क तोकिएको हो ।’ उनकाअनुसार एउटा लेखापरिक्षकले अवदेखि १० ओटा मात्र सार्वजनिक कम्पनीको लेखापरिक्षण गर्न पाउनेछन् । यसअघि २० ओटा कम्पनीको लेखापरिक्षण गर्न पाउँथे ।

नयाँ न्यूनतम् पारीश्रमिक सूचीअनुसार सूचीकृत सार्वजनिक वित्तीय संस्थातर्फ १ खर्ब रुपैयाँभन्दा बढीको लेखापरीक्षण गर्दा २५ लाख रुपैयाँ शुल्क निर्धारण गरिएको छ । त्यसैगरी, ५० अर्ब भन्दा बढी भएमा २० लाख, १० अर्बभन्दा बढीको १० लाख, ५ अर्बभन्दा बढीको ५ लाख, १ अर्बभन्दा बढीको ३ लाख र न्यूनतम् १ लाख रुपैयाँ पारीश्रमिक निर्धारण गरिएको हो । पेशागत प्रमाणपत्र भएकाहरुले सूचीकृत तथा सार्वजनिक संस्थामा ५० अर्ब भन्दामाथिको २० लाख र निजी कम्पनीतर्फ १५ लाख रुपैयाँ शुल्क तोकिएको आईक्यानले बताएको छ । सहकारी संस्थाहरुको लेखापरीक्षण गर्दा न्यूनतम् ५ अर्ब भन्दा बढी भएमा ५ लाख रुपैयाँ निर्धारण गरिएको छ । सबै भन्दा कम २ करोडको भन्दा बढीको लेखापरीक्षण गर्दा २५ हजार रुपैयाँ शुल्क निर्धारण गरेको विहिवार आयोजित पत्रकार सम्मेलनमा आईक्यानले जानकारी दिएको छ ।

आईक्यानले अबदेखि सम्पूर्ण कार्य सातदोबाटोस्थित नयाँ भवनबाट गर्ने बताएको छ । स्थापनाकालदेखि नै बबरमहलबाट काम गर्दै आएको आईक्यानले अबदेखि सातदोबाटोस्थित ढलौट कारखाना परिसरभित्रको ६ रोपनी ६ आना जग्गामा बनेको आधुनिक भवनबाट सबै किसिमका कार्य सञ्चालन गरिने उपाध्यक्ष प्रकास लम्सालले बताए । आईक्यानले यही शनिवार र आइतवार कण्फेडेरेशन अफ एसिएन एण्ड प्यासिफिक एकाउन्ट्ससँगको संयुक्त आयोजनामा सार्वजनिक क्षेत्र वित्तीय व्यवस्थापनसम्वन्धी अन्तरराष्ट्रिय सम्मलेनको आयोजना गर्ने भएको छ । उक्त सम्मेलनमा २१ देशका ५० भन्दा बढी विदेशी संस्थाका प्रतिनिधि तथा उल्लेख्य मात्रामा स्वदेशी लेखा व्यवसायीको उपस्थिती रहने समेत लम्सालले जानकारी दिए ।

audit-fee copy

प्रतिक्रिया दिनुहोस्