बिजखबर संवाददाता
१२ चैत,काठमाडौं । राष्ट्रपति डा रामवरण यादव चीनको बोआओ सहरमा हुने एसियाका लागि बोआओ मञ्चको बार्षिक सम्मेलनमा भाग लिन बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् । उनी चीन सरकारको निमन्त्रणामा कार्यक्रममा भाग लिन लागेका हुन् ।
चीन प्रस्थानअघि राष्ट्रपति यादवलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीद्वय, मन्त्रिगण, सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गरेका थिए । राष्ट्रपति यादवको बिदाइ समारोहमा नेपाली सेनाको एक टुकडीले सलामी समेत अर्पण गरेको थियो ।
चीनको दक्षिणी प्रान्त हाइनानको बोआओ सहरमा चैत १२ देखि १५ गतेसम्म आयोजना हुने सो सम्मेलनमा राष्ट्रपति डा यादवले यही चैत १४ गते बिहान सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन अपराह्न आफ्ना चिनीया समकक्षी राष्ट्रपति सि जिनपिङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
भ्रमणक्रममा बिहीबार साँझ राष्ट्रपति डा यादव नेतृत्वको प्रतिनिधिमण्डल हाइनान प्रान्तको सान्या सहर पुग्नेछ । एकदिने सान्या बसाइका क्रममा राष्ट्रपतिले आरका भ्याली लाइभ म्युजियम कल्चरल हेरिटेज पार्क एन्ड अब्जर्भेसनको अवलोकन गर्नाका साथै नान्सा रमणीय उद्यानको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
मन्त्रालयका अनुसार राष्ट्रपतिले उक्त उद्यानमा नेपाल चीन सांस्कृतिक केन्द्रमा नेपालमण्डपको उद्घाटन गर्नेछन् । सान्याबाट शनिबार बिहान सम्मेलनस्थल बोआओतर्फ प्रस्थान गर्नेछन् ।
आगामी बुधबार बिहान उक्त प्रतिनिधिमण्डल स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
राष्ट्रपति नेतृत्वको १८ सदस्यीय प्रतिनिधिमण्डलमा राष्ट्रपतिकी सुपुत्री अनिता, सहरी विकासमन्त्री डा नारायण खड्का, राष्ट्रपतिका सल्लाहकारद्वय सूर्यप्रसाद ढुङ्गेल र हरि शर्मा, राष्ट्रपतिको कार्यालयका सचिव अनुपकुमार उपाध्याय, चीनका लागि नेपाली राजदूत महेशकुमार मास्कलगायत रहेका छन् ।