काठमाडौं । सरकार र यातायात व्यवसायीबीच सहमति नहुँदा यस बर्षको दशैका लागि अग्रीम टिकट बुकिङ नहुने भएको छ । यातायात व्यबस्था विभागले यही भदौं २४ गतेबाट दशैंका लागि अग्रीम टिकट बुकिङ खोल्ने निर्णय गरेपनि यातायात व्यबसायीहरुले कुनै किसिमको तयारी नभएको भन्दै अग्रीम टिकट बुकिङ खोल्न नसकिने जानकारी दिएका हुन ।
विभागले प्रत्येक दिन यातायातमा भएको अन्यौलता हटाउन ब्यवसायीहरुसँग छलफल गरेपनि व्यबसायीहरुले सरकारका कारणले अफ्नो ब्यवसाय नै धरापमा परेको बताउँदै तयारी पुरा नभएको जानकारी दिँदै आएका छन् ।
विभागले लामो यात्राका यात्रुलाई दशैंको बेलामा सास्ती नपुगोस भन्ने उद्देश्य सहित १ महिना अगावै अग्रीम टिकट बुकिङ खोल्ने बताएको थियो । यसकै लागि विभागले यही भदौं २१ र २२ गते सम्बन्धित व्यबसायीसँग छलफल समेत गरेको थियो । तर सो बैंठकमा सरकारले व्यवसायीमाथी धरपकट गरेको र व्यवसायनै समाप्त पार्न खोजेको भन्दै अग्रीम टिकट बुकिङको कुनै तयारी नभएको बताउँदै आएका छन् । साथै यस अघिका बर्षमा दशै लक्षित गरेर व्यवसायीले नयाँ बस थप गर्दै आएकोमा यस पटक हालसम्म थप गरिएको छैन ।
सरकारले गत बैशाखमा यातायात क्षेत्रमा रहेको कार्टेलिङको अन्त्य गर्ने भन्दै यातायात व्यबस्था ऐन २०४९ मा रहेर विभिन्न यातायात व्याबसायीका समिति खारेज गर्दै विभागमा पञ्जिकरण गर्ने निर्णय गरेको थियो । साथै विभिन्न यातायात समितिहरुको नविकरण समेत नगर्ने निर्णय गरेको थियो ।
सरकारको उक्त कदमको विरोध गर्दै नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघले चरणबद्ध आन्दोलन समेत गरेको थियो । तर उक्त आन्दोदनको क्रममा सरकारले व्यबसायी लगायत महासंघका प्रतिनिधिहरुलाई पक्राउ गरी थुनामा राखेको थियो । पक्राउ पश्चात यातायात व्यबसायीहरुले आफ्नो आन्दोलनबाट घुँडा टेक्दै आफ्ना समितिहरु नविकरण नगर्ने तथा यातायात व्यबसायलाई पनि कम्पनीमा दर्ता गराई विभागमा पञ्जिकरण गराउने सहमत भएका थिए ।
तत्पश्चात व्यबसायीले धमाधम आफ्ना सवारीसाधनहरु कम्पनीमा दर्ता गराउँदै विभागमा पञ्जिकरण गर्ने होड चल्यो । जसमा पछिल्लो ३ महिनामै लगभग २ सय ३० ओटा यातायात कम्पनीहरु कम्पनीमा दर्ता भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार सरकारले यातायातमा भएको कार्टेलिङको अन्त्य गर्ने घोषणा गरेकै दिनदेखि नयाँ यातायात कम्पनीहरुको दर्ता प्रक्रिया एक्कासी बढेको हो । यसरी यातायातहरु कम्पनीमा दर्ता भएसँगै यातायात समितिले गर्ने सम्पुर्ण काम कारवाही सरकारमा सरेको हो । यातायात समितिको सम्पुर्ण प्रक्रियाहरु सरकारमा सरेसँगै यो क्षेत्रमा झन अन्यौलता बढेको सम्बद्ध विज्ञहरु बताउँछन् ।
यस्तै नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार व्यबसायीहरुले यसपाली नयाँ बसहरु पनि नथपेका र अग्रीम टिकट बुकिङको समय पनि नतोकिएकोले यात्रुहरुले सास्ती खेप्नुपर्ने जानकारी दिएका छन । तर यातायात व्यबस्था विभागका महानिर्देशक लावण्ड्यकुमार ढकाल भने अघिल्ला बर्षहरुमा पनि घटस्थापनाको १ हप्ता अगाडी मात्रै अग्रीम टिकट बुकिङ खोलिएको बताउँछन ।
साथै यो बर्षका लागि पन अग्रीम ठिकट बुकिङ खुला गर्न हतार नभएको उनी बताउँछन् । ‘टिकट बुकिङ खुला गर्न अझै केहि दिन बाँकी छ,’ उनले भने, ‘अबको ५ देखि ७ दिनमा खोल्ने निर्णय गर्नेछौं ।’
अग्रीम टिकट बुकिङका लागि व्यबसायीहरुसँग हरेक दिनजसो छलफल भइरहेको जानकारी दिँदै पछिल्लो समय व्यवसायीहरु पनि सहमति नजिक पुगेको जानकारी दिए । दशैमा लामो यात्रा गरेर घर जानु पर्ने यात्रुहरुलाई सास्ती नदिन जतिसक्दो छिटो अग्रीम टिकट बुकिङ खोल्ने तयारी गरिएको समेत उनको भनाइ थियो ।
तर व्यबसायीहरु भने इन्धनको मूल्य, सवारी पार्टपुर्जाको मूल्य तथा कर बढेपनि सरकारले सवारी भाडादर संयोजन नगरेका कारण आफुहरुलाई सवारीसाधन संचालनमा समस्या परेको बताउँदै आएका छन् । उनीहरुले आफ्नो बैंकिङ खाता पनि सरकारले रोक्का गरेकोले आफुहरुले गर्नुपर्ने विभिन्न क्रियाकलापहरु पनि गर्न नसकेको यातायात व्यबसायी राष्ट्रिय महासंघका सहसचिव सरोज सिटौलाले जानकारी दिए । ब्यबसायीका सवारीहरु कम्पनीमा दर्ता भएसँगै यातायात क्षेत्रमा झन समस्या देखिएको उनले जानकारी दिए ।