काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कंडेलले हचुवाका भरमा कर लागाउँदा हंगामा निम्तिएको बताएका छन ।
उनले सिन्धुली जिल्ला समन्वय समितिद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै हचुवामा करका दर निर्धारण नगरी अध्ययन गरेर जनतालाई सेवा दिएर मात्र कर लगाउनु पर्ने धारणा ब्यक्त गरेका हुन ।
‘कर ज्यादै संवेदनशिल चिज हो, यसको प्रभाव एउटा सत्ता फालेर अर्को सत्ता ल्याउने औजारको रुपमा समेत विभिन्न मुलुकमा अभ्यास भएको छ ।’, उनले भने ।
उनले देशलाई कस्तो बनाउने भन्ने कुरा स्थानीय तहको कार्यशैलीमा भर पर्ने बताउँदै कसरी साधन र स्रोत जुटाउने, जनतालाई समस्या नपर्नेगरी कर लगाउने कुरामा ध्यान दिन पनि स्थानीय तहलाई आग्रह गरेका हुन ।
यसका साथै उनले करले देशैभर हंगामा सिर्जना भएको बताउँदै पछिल्लो समय सिर्जना भएको कति भ्रम कति वास्तविकता हो भन्ने कुरा वित्तिय आयोगले अध्ययन गरिराखेको जानकारी दिएका छन ।
कार्यक्रममा बोल्दै आयोगका सदस्य रामकुमार फुयाँलले आयोगले दिर्घकालिन सोच सहितको तथ्यपरक नीतिमा आधारित योजना बनाउने र त्यसलाई तदारुकताका साथ कार्यान्यवन गर्ने बताएका छन ।