काठमाडौं । यातायात व्यबस्था विभागले सवारी परिचयपत्र (स्मार्ट लाईसेन्स) छाप्न बोलपत्र आह्वान गरेको छ ।
विभागले हालको मेशिनबाट मात्र वितरण गर्दा आवेदकलाई सहज रुपमा स्मार्ट लाईसेन्स वितरण गर्न नसकेपछि नयाँ मेशिन खरिदका लागि बोलपत्र आह्वान गरेको हो ।
विभागमा हाल स्मार्टकार्ड लाईसेन्स लिनका लागि करिब ७ लाख सेवाग्राहीले आवेदन दिएका छन् । तर, अहिलेकै उपकरणबाट आवेदकहरुलाई समयमै स्मार्टलाईसेन्स दिन नसकिएपछि विभागले मेशिन खरिदका लागि बोलपत्र आह्वान गरेको हो ।
विभागले २०७२ सालदेखि स्मार्टकार्ड लाईसेन्सको सुरुवात गरेको थियो । तत्कालीन समयमा पनि स्मार्टकार्ड लाईसेन्स छपाईका लागि भारतीय कम्पनी मद्रास सेक्युरीटी प्रीन्टर्ससँग सम्झौता भएको थियो । उक्त कम्पनीले उपलब्ध गराएको मेशिनहरुले हालसम्म करिब ४ लाख स्मार्ट लाईसेन्स छपाई गरी वितरण गरिएको विभागले जानकारी दिएको छ ।
तर अहिले ब्याकहोल्डमा रहेका स्मार्टकार्डहरुको संख्या दैनिक रुपमा बढ्दै गएको र विभागमा रहेका सो कम्पनीका प्रिन्टर्सहरुले काम गर्न छोडेपछि स्मार्टकार्ड लाईसेन्स वितरणमा समस्या देखिएको हो ।
नेपालमा हाल करिब ३२ लाखसम्म सवारीसाधनहरु संचालनमा रहेका छन । उक्त सवारीचालकहरुलाई स्मार्टकार्ड लाईसेन्स वितरणका लागि भारतीय कम्पनीसँग ३ बर्ष अघि सम्झौता भएपनि हालसम्म ४ लाख स्मार्ट लाईसेन्स मात्र वितरण गरिएको छ ।
मद्रास प्रिन्टर्सले विभागलाई उपलब्ध गराएको ९ ओटा प्रिन्टरहरुमध्ये हाल ३ वटाले मात्र राम्रोसँग काम गर्दै आएका छन । अन्य ६ वटा प्रिन्टर भने बिग्रीएर बसेका छन् विभागले पहिला दैनिक ५ देखि ८ हजारसम्म स्मार्ट लाईसेन्स वितरण गर्दै आएकोमा सो मेशिन बिग्रिएपछि अहिले २ देखि ३ हजार वटा मात्रै स्मार्टकार्ड लाईसेन्स वितरण गर्दै आईरहेको छ ।
उक्त समस्या सुल्झाउनका लागि विभागले नयाँ प्रिन्टरका लागि बोलपत्र आह्वान गरेको छ । विभागले उक्त बोलपत्रका लागि १ सय २० दिनको म्याद राखेको छ ।
साथै विभागले ४९ लाख रुपैयाँबराबरको प्रीन्टरका लागि बोलपत्र आह्वान गरको हो ।