काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयमा अनियमितता गरी अर्काको सम्पती हड्प्ने १२ जानलाई केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । भारतीय नागरिक राम निरञ्जन जटियाको नाममा रहेको शंकर इलेक्ट्रोनिक्स कम्पनीकोे सम्पत्ती सम्बन्धित मालिकलाई नै थाहा नदिई ७० करोड रुपैयाँ बराबरको चल अचल सम्पती अर्कैको नाममा नामसारी गर्ने १२ जनाको नाम सार्वजनिक गरेको हो ।
उक्त किर्ते काममा कम्पनी रजिष्ट्रारका अधिकृतद्धय नारायण पोखरेल, उमेश जोशीसहित १२ जनालाई पक्राउ गरेको छ । जसमा ४ जना कम्पनी रजिष्ट्रार कार्यालयका कर्मचारी र अन्य ८ जना बाहिरी गिरोह रहेका छन् ।
सीआईबीले सेयर ट्रान्सफरमा घोटला भएको शंका लागेपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा छापामारी कर्मचारीलाई पक्राउ गरेको हो । सीआईबीका अनुसार जितबहादुर मगर, निरजकुमार मानन्धर र पुण्यप्रसाद पोखरेलको योजनामा उक्त काम गरिएको थियो । जसमध्ये जटियाको नाममा भएको कम्पनीको चल÷अचल सम्पत्ती बिक्री गर्ने तयारी गरिसकेका थिए ।
सीआईबीले हाल विभाका अधिकृतद्धय नारायण पोखरेल, उमेश जोशी र आईटी शाखामा कार्यरत २ जनालाई पक्राउ गरेको छ । साथै कम्पनी रजिष्ट्रार कार्यालयमा थप दुई जना फरार रहेको सीआईबीले जानकारी दिएको छ ।
विशेषगरी बालुवाटार वस्ने राजभाई श्रेष्ठलाई शंकर इलेक्ट्रिक इण्डष्ट्रिजको सेयरधनी संचालक म हुँ भनी कागजात समेत देखाई जीतबहादुर मगर समेतले वालुवाटारको १४ आना १ पैसा ३ दाम जग्गा र सतुङ्गलको १५ रोपनी जग्गा प्रति आना १० लाख २५ हजारको दरले खरिदका लागी २ करोड वैना लिएको पाईएको सीआईबीले जानकारी दिएको छ ।